गल्याङ, १४ फागुन ।
उपराष्ट्रपति नन्दबहादुर पुन मगर बुधवार स्याङजा आइपुगेका छन् । विहिवार वालिङमा आयोजना गरेको ३८औँ मगर राष्ट्रिय एकता दिवसको समारोहलाई उद्दघाटन गर्न उपराष्ट्रपति स्याङ्जा आएका हुन् ।
उपराष्ट्रपति पुनले गल्याङ नगरपालिका – ३ स्थित तल्लो गल्याङमा अवस्थित माटो बिनाको तरकारी खेती (आक्वापोनिक्स प्रविधि) को खेतीको अवलोकन गरेका छन् । गल्याङका ओम थापाले विगत दुई वर्षदेखि सञ्चालन गर्दे आएको उक्त खेतीको वारेमा उपराष्ट्रपति पुनले जानकारी लिनुका साथै अवलोकन गरेका छन् ।
घरको कौसीमा सन्चालित उक्त खेती लगायत घरको अण्डर ग्राउण्डमा रहेका माछा पोखरीको पनि अवलोकन गरेका थिए । साथमा गल्याङमा नै निर्माणधीन अवस्थामा रहेको बायो फ्लोक माछापालनको पनि अवलोकन गरिएको थियो ।
उपराष्ट्रपति पुनलाई नेपाल मगर संघ ईकाइ समिती तल्लो गल्याङले भव्य स्वागत गरेका थिए ।अपरान्ह ४ बजे गल्याङ आइपुगेका उपराष्ट्रपति पुन केही समयको अवलोकन पश्चात नेपालको ठुलो जलविद्युत परियोजना कालिगण्डकी ए को अवलोकन गर्न कालीगण्डकी गाउँपालिका बेल्टारी प्रस्थान गरेका छन् ।
वुधवार बेल्टारी परियोजनाको गेष्ट हाउसमा बास बस्ने कार्यक्रम रहेको नेपाल मगर संघ जिल्ला समन्वय समितीले जनाएको छ । पुनका साथमा नेपाल मगर संघ जिल्ला समन्वय समितीका अध्यक्ष लोकेन्द्र तरामु मगर लगातका समन्वयका पदाधिकारीको सहभागिता रहेको छ । उपराष्ट्रपति पुन गल्याङ आउदा यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
उपराष्ट्रपति पुन विहिवार विहान ९ बजे वालिङ खेल मैदानमा आयोजित ३८ औँ राष्ट्रिय मगर एकता दिवसको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा मगर सांस्कृतिक झाँकी तथा ¥यालीको प्रर्दशनी गरिने छ । भिजिट नेपाललाई समेत यो कार्यक्रमले टेवा पुग्ने आयोजकको दावी रहेको छ ।