राहुल गुप्ता
बारा, ११ फागुन।
नेपाली कांग्रेस बाराले बरियारपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। उक्त घटनाका दोषीहरूले महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव र आफ्ना कार्यकर्तालाई फसाउन खोजेको भन्दै बारा कांग्रेसका सभापति जयचन्द चौरसियाको नेतृत्वमा आइतबार कलैयामा शान्तिपूर्ण प्रदर्शनसमेत गरिएको छ।
नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको रयालीले कलैया बजार हुंदै जिल्ला प्रहरी कार्यालय बारा अगाडी पुगी प्रदर्शन गरेको थियो । प्रर्दशनका सहभागीहरुले दोषीलाई कारवाही गर, साईबर अपराध गर्नेलाई कानुनी कारवाही गर, बरियारपुर घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा नेपाली काँग्रेसका उपसभापति सुरेन्द्र गुप्ता, सचिवद्वय मनोज भट्ट, हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, उपप्रमुख तारादेवी कानु, नेपाली कांग्रेसका नेता राजेश यादव, रामप्रवेश यादव, भैयाराम यादव, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, नेविसंघका नेता राकेश पाण्डेय, नेजामुद्दिन अंसारी लगायत सयौको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सोही क्रममा प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई कांग्रेस कार्याकर्ता र नगरपालिकाका कर्मचारी कुट्नेलाई तत्काल कारबाहीका माग गर्दै उजुरीसमेत दिएको सभापति चौरसियाले बताए।
बरियारपुरको विवाद मिलाउनुको सट्टा समाजवादी पार्टी नेपालका महासचिव तथा बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव, प्रदेशसभा सदस्य पारस साह, बच्चा यादवलगायत नेता–कार्यकर्ताले कांग्रेस समर्थक आठजनाविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीसमक्ष मुद्दा दिएर घटनालाई राजनीतिक बनाएको आरोप उनले लगाए।
घटनाको दोषीलाई राजनिति रुप दिएर बारा प्रहरीले बचाउ गर्न खोजेपछि पार्टीका कार्यकर्ताले प्रदर्शन गरिएको र घटनाको निष्पक्ष छानबिन नगरीए चरणबद्ध आन्दोलनमा उत्रिने नेपाली कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । प्रदर्शन पछि सभापति चौरसियाको टोलीले बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीसंग भेटघाट गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका थिए ।