भीरकोट, ७ फागुन ।
नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल बाल कलाकार कमला घिमिरे फागुन ८ गते बिहिवार भीरकोट उद्योग बाणिज्य संघले बयरघारीमा आयोजना गरेको दोस्रो भीरकोट महोत्सवमा आउने भएकी छिन् ।
पछिल्लो समय यू–ट्युव र सामाजिक संजालमा भाईरल बनेकी बाल कलाकार कमला घिमिरेलाई आम दर्शकको माग अनुसार मेलामा आमन्त्रण गरिएको महोत्सव आयोजक सास्कृतिक उपसमितीका सदस्य राजकुमार गुरुङले जानकारी दिए ।
दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित भएका छन् । सानै उमेरकी कमलामा ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्ममा परेका छन् । सुमधुर स्वर र नम्र स्वभावकी बाल गायिका कमलालाई मेलामा ल्याउन बिशेष माग भएको कारण कमलालाई मेलामा आमन्त्रण गरिएको गुरुङले जानकारी दिए ।
“समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार” भन्ने नाराका साथ प्रदेश स्तरीय औद्योगिक कृषि, पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यपार मेलाको सातौं दिन पनि दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको आयोजकले जानकारी दिएका छन् ।
महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सहजता प्रदान गर्ने विश्वास रहेको महोत्सव मुल आयोजक समितिका संयोजक भक्तबहादुर केसीले जानकारी दिए । कृषि उत्पादनमा बढवा दिलाउने र बजार प्रवद्धन सगै स्वरोजगार सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन महोत्सवले सफलता तर्फ उन्मूख रहेको केसीको भनाई छ ।
महोत्सवको आठौं दिन चर्चित बालकलाकार कमला घिमिरेको प्रस्तुती सहित राष्ट्रिय नाच घरमा प्रस्तुत भईसकेको लोपोन्मुख हनुमान नृत्य लिएर जुनेली भजन किर्तन समाज कालिकाकोटको विशेष प्रस्तुती रहने सास्कृतिक संयोजक तुलसी प्रभासले जानकारी दिए ।