वालिङ, ७ फागुन ।
३८औँ मगर एकता दिवस फाल्गुन १५ गते उपराष्ट्रपति नन्दबहादुर पुनमगर स्याङ्जाको वालिङ आउने भएका छन् ।
नेपाल मगर संघ जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा यही फाल्गुन १५ गते मगर एकता दिवस २०७६ एवं वालिङ खेलमैदानमा रहेको ‘मगर गुमष्ठा इम’ को उद्दघाटनका लागी उपराष्ट्रिपति पुन यहाँ आउने कार्यक्रम रहेको नेपाल मगर संघ जिल्ला कार्यसमितिले जनाएको छ । खेलमैदान नजिकै दुईतले भवनको समेत उपराष्ट्रपति पुनले उद्दघाटन गर्नेछन् ।
“मगर इतिहास, भाषा, संस्कृति संर्वद्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजित मगर एकता दिवसका अवसरमा आयोजित कार्यक्रमको नेपाल मगर संघ वालिङ नगर समितिले व्यवस्थापन गरेको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्लाका ११ स्थानीय तहबाट मगर समुदायको सहभागिता रहनेछ ।
१५ फागुन नेपाल मगर संघको स्थापना भएको दिनको रुपमा मगर समुदायले मगर एकता तथा मगर दिवस मनाउदै आइएको छ । २०३९ साल फागुन १५ गते नेपाल लाङघालि परिवार संघको प्रथम अधिबेसन सम्पन्न भएको सम्झनामा मनाउन थालिएको लाङघालि दिवसको दिनलाई नै २०४० सालबाट नेपाल मगर संघ तथा अन्य मगर समुदायसम्बन्धी संघसंस्थाहरुले मगर दिवसको रुपमा मनाउँदै आएका छन् । विश्वभरी छरिएर रहेका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै मगर एकताका लागी दिवस मनाउँदै आएका छन् ।