काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा प्रकरणमा नेकपा जोगाउने गरी मुद्दा दर्ता गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
विकास टाइम्ससँगको संक्षिप्त कुराकानी गर्दै नेता पौडेलले भने, ‘एउटै जग्गाको सन्दर्भमा नेकपाका नेताहरु चोखिने, कांग्रेसी नेताविरुद्ध मुद्दा लाग्ने अनौठो शैली देखियो ।’
अख्तियारले तत्कालीन मन्त्रीको हैसियतमा गच्छदारविरुद्ध मुद्धा दायर हुँदा नेकपाका तत्कालीन मन्त्रीहरु, प्रधानमन्त्रीलाई भने उन्मुक्ति दिइएको पौडेलले दावी गरे ।
उनले भने, ‘नेकपाको झण्डमुनी भएकाहरुको सीधा सम्बन्ध भूमाफियासँग हुँदा पनि हुने, तर मुद्धा भने छानीछानी कांग्रेसका नेताविरुद्ध दर्ता हुने विषयले धेरै प्रश्न जन्माएको छ ।’
वरिष्ठ नेता पौडेलले ललितानिवासको जग्गा कब्जा गर्ने प्रपञ्चमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादीका बाबुरा भट्टराई, भूमाफियालाई सघाएबापत बक्सिस पाउने विष्णु पौडेललाई गंगाजल छर्किने काम भएको आरोप लगाए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्विट गर्दै माधव नेपाल र विष्णु पौडेललाई छोडेर गच्छदारलाई मात्र मुद्दा चलाइएकोमा आश्चर्य प्रकट गरेका छन् ।