केपी खनाल
गल्याङ, २१ माघ ।
झट्ट हेर्दा कलेज पढने विद्यार्थीहरु बनभोजमा रमाइलो गरे जस्तो दृष्य देख्न सकिन्छ । तर, उनीहरु भने सबै एकेठाँउमा भेला भएर प्लास्टिकको थैलीमा माटो भरिरहेका छन् । कोही विद्यार्थी माटो चालिरहेका छन् । कोही मल बोकिरहेका छन् त कोही, माटो र मललाई मिलाउने काममा व्यस्त छन् । अनि कोही प्लास्टिकमा विउ रोपिरहेका छन् भने कोही प्रशिक्षकको कुरा सुनिरहेका छन् । दृष्यमा अर्को तर्फ उनीहरुका लागि खाजा र नास्ता पाकिरहेको देख्न सकिन्छ । जो कोहीले बनभोजमा विद्यार्थी रमाएको भन्न मिल्छ ।
यो दृश्य स्याङ्जाको गल्याङ नगरपालिका ११ स्थित कट्टीको हो । गल्याङ बहुमुखी क्याम्पसका १ सय २५ जना विद्यार्थी यहाँ कृषि काममा व्यस्त भएका हुन । त्यसो त उनीहरुको अध्ययनको विषय कृषि होइन, तर अध्ययन सँग सँगै कृषि पेशाबाट पनि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ उनीहरु कृषि सम्वन्धी प्रशिक्षण लिइरहेका हुन् ।
कृषिलाई महत्व दिएको गल्याङ नगरपालिकामा रहेको गल्याङ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले कृषि समूह बनाएर नै काम थालेका हुन् । गाउँगाउँमा कृषि समूह गठन भई काम भैरहेको बेला क्याम्पसमै पनि गल्याङ बहुमुखी क्याम्पस अर्थात् जिएमसी कृषि तथा पशुपालन समूह गठन भएको छ । यही समूहको आयोजनामा क्याम्पसका विद्यार्थीहरुका लागि गरिएको अदुवा तथा तरकारी खेती सम्बन्धि प्रशिक्षण कार्यक्रम अन्तर्गत सोमबार उनीहरु प्रयोगात्मक शिक्षाका लागि यसरी बारीमा भेटिएका हुन् ।
तालिम अन्तर्गत प्रशिक्षार्थी (विद्यार्थी) हरुलाई अदुवा लगाउने तरिका, लाग्ने रोगहरुको रोकथामको उपाय, विउविजन लगाउने तरिकाबारे प्रशिक्षण दिइएको छ । अदुवा विशेषज्ञ शिब न्यौपाने, कृषि शाखा प्रमुख शिब ढकाल, कृषि प्राविधिक शिब सुबेदी सहितले अदुुुवा र अन्य विउ विजन लगाउने तरिकाबारे सिकाएका छन् । पहिलो चरणमा अदुवा, करेला, फर्सी, काक्रा, घिरौंला, लौका, धनीयाँ, खुर्सानी, तथा सागको विउ रोप्ने तरिका सैद्वान्तिक र प्रयोगात्मक तरिकाले सिकाइएको छ ।
प्रशिक्षणको आयोजक जिएमसी कृषि तथा पशुपालन समूहका अध्यक्ष शिब भट्टराईले ती सबै बेर्नाहरु विद्यार्थीलाई नै वितरण गरिने जानकारी दिनुभयो । प्रशिक्षक तथा गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिब ढकालका अनुसार झण्डै एक महिनामा यि विउहरु विरुवाको रुपमा रोप्न तयार हुनेछन् ।
२५ किलोग्राम अदुवा सँगै, एक हजार वटा थुंगामा विभिन्न लहरे तरकारीका विरुवा र प्लास्टिक ट्रे मा कोकोपिट राखी खुर्सानीका विउ लगाइएको छ ।
गल्याङ नगरपालिका कृषि शाखा प्रमुख ढकालका अनुसार नगरपालिकामा झण्डै तीन सय भन्दा बढि समूह दर्ता छन् । यि समूहहरुले आ–आफ्नै ढंगले आवश्यकता अनुसार काम गरिरहेको उनको भनाई छ । ढकालले भने –‘कुनै समूहले वाख्रापालनलाई जोड दिइरहेका छन् भने कुनै समूहले तरकारी खेतीलाई । यस्तै कुनै समूुुुुहले अदुवा खेती र अन्य कामहरु गरिरहेका छन् ।’ माटो र क्षेत्र सुहाँउदो उत्पादनमा लाग्न आफुहरुले ती समूहलाई प्रोत्साहन गरिरहेको उनको भनाई छ ।
विहानीको समय क्याम्पसमा विताइरहेका विद्यार्थीहरुले दिउसो र खाली रहेको समयमा उत्पादनमा जोडिन सक्छन् भन्ने मान्यताका साथ क्याम्पसमा पनि कृषक समूह गठन गरिएको समूहका अध्यक्ष शिब भट्टराईले बताए । ‘पोलिब्याग’मा माटो भर्दै उनले विरुवा उत्पादन गर्न सिकेको कुरा सधैं काम लाग्ने भएकाले विद्यार्थीका लागि यस्तो अवधारणा ल्याएको बताए । घरमा आवश्यक पर्ने खाद्यान्न सहित तरकारी लगायतका कृषि उपजका लागि परनिर्भरताको अन्त्य गर्दै पछि व्यवसायिक कृषक र पशुपालक बन्न सकिने भट्टराईको भनाई छ ।
अदुवा तथा तरकारीु खेती प्रशिक्षण कार्यक्रमको उद्घाटनमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विद्यार्थीहरुले पुुस्तकको ज्ञान लिएर मात्रै नहुने भन्दै खाली रहेको समयको सदुपयोग गर्नका लागि पनि कृषि क्षेत्रमा लगाइएको वताए ।
उनले भने –‘दिनभर मोवाइल चलाएर समय विताउनुभन्दा एउटा बोट खुर्सानी लगाउनु पनि हितकर हुन्छ ।’ सबै व्यक्ति व्यक्ति आत्मनिर्भर बन्दै गएपछि मात्रै राष्ट्रियता बलियो हुने भएकाले सबैले कम्तिमा आफ्नो परिवारका लागि उत्पादन गर्न सकिने नगरप्रमुख अधिकारीले बताए ।
घर बाट आत्मनिर्भर बन्न सुरु गर्नुपर्ने र व्यवसायिक सोच बनाउँदै विदेशिएका युवाहरुलाई स्वदेशमा झिकाउनुपर्ने नगरप्रमुख अधिकारीको भनाई छ । विद्यार्थीलाईनै कृषि क्षेत्रमा संलग्न गराउन सकेमा त्यसले दीर्घकालिन प्रभाव पार्ने भएकाले विद्यार्थी नै समूहमा लागेर काम सुरु गर्नु सकारात्मक काम भएको उनको धारणा रहेको छ ।