भीरकोट, १७ माघ ।
भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन १ देखि ११ गते सम्म बयरघारीमा ‘समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपाहार’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रादेशिक, औद्योगिक, कृषि, पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला दोस्रो भीरकोट महोत्सव–२०७६ को तयारी तिव्र पारिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० तथा स्थानीय पर्यटन प्रवर्दनका लागि आयोजना गरिएको दोस्रो संस्करणको महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्तकलाका सामाग्रि तथा घरेलु उद्योगलाई विशेष प्राथमिकता दिइने आयोजक भिरकोट उद्योग वाणिज्य संघले जनाएको छ । मञ्च तथा स्टल व्यवस्थापन समितीका संयोज हर्कवहादुर गुरुङले जानकारी दिए । महोत्सवमा झण्डै दुईसय स्टल रहने र स्टल निर्माणको कामको थालनी भएको उनले जानकारी दिए ।
घरेलु उद्योग तथा स्थानीय कृषि उत्पादनका बस्तुलाई स्टलमा विशेष छुट दिइने तरकारी फलफूल तथा पशुपंछी व्यवस्थापन उप समितीका संयोजक जनक अधिकारीले जानकारी दिए । ‘महोत्सव मार्फत स्थानीय उत्पादनको बजारिकण गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘भीरकोट नगरपालिकाको उत्पादन कृषि, फलफूल तथा तरकारी र हस्तकलाका सामाग्रीहरु स्टलहरुमा प्रदर्शनी तथा व्यापारका लागि सहुलियत भाउमा ग्राहकलाई उपलव्ध गराउने छौं ।’
यसैबीच महोत्सव मूल आयोजक समितिले महोत्सवको तयारीका लागि भीरकोट नगरपालिका भित्रका विभिन्न संघ संस्था, सरकारी निकाय र व्यापारीहरु संग नियमित छलफल तथा भेटघाट गरिरहेको छ। महोत्सवलाई व्यवस्थित बनाउन र उद्घाटन कार्यक्रममा विभिन्न जातजातीको संस्कृति झल्कने भेषभूषाको प्रर्दशनी, झाँकी सहितको र्यालीले बजार परिक्रमा गरिने कार्यक्रमको तयारीका पनि भईरहेको छ ।
यसैविच महोत्सवका लागि स्टल वुकिङ खुला गरिएको छ । हालसम्म झण्डै ५० प्रतिशत स्टल बुकिङ भैसकेको आयोजकले जानकारी दिएका छन् । भने महोत्सवमा मुख्य प्रायोजकमा भीरकोट नगरपालिका र खिलुङ्ग कालिका एग्रो प्रा.लि रहेका छन् ।
महोत्सवमा आँधीखोलाको संरक्षण र यसको जैविक विविधता सम्वन्धी जानकारी, नगरपालिका क्षेत्र भित्र रहेका होमस्टे, प्याराग्लाईडिङ तथा ऐतिहासिक भीरकोट दरवार र पर्यटकीय सम्भावना भएका क्षेत्रहरुको प्रवर्दन गरिने मुल आयोजक समितीका संयोजक तथा भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्त वहादुर केसीले जानकारी दिए ।
महोत्सवको प्रचार प्रसारलाई तिव्र पारिएको प्रचार प्रसार समितीका संयोजक नुवादत्त अर्यालले जानकारी दिए । जिल्लाका विभिन्न ठाँउहरुमा तुल व्यानर र माइकिङ गरि महोत्सवमा निमन्त्रणा गरिएको जानकारी दिएका छन् ।
भिरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले भिरकोटको पहिचान र समृद्धिका लागि महोत्सवको आयोजना गरिएको वताएका छन् । भीरकोट उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवको तयारीका विषयमा नियमित जानकारी लिदै सल्लाह सुझाव दिर्दै आइरहेको जानकारी दिएका छन् ।
भिरकोट सानो रहेको तर, सुन्दर रहेको वताउदै नगर प्रमुख खनालले यस क्षेत्रको मौललिक कला, कृषि, पर्यटन र संस्कृतिको प्रवर्दनका लागि महोत्सवले सहयोग पुग्ने वताएका छन् ।
महोत्सववाट झण्डै १ करोड आम्दानी अनुमान गरेको संघले सम्पूर्ण खर्चवाट झण्डै २५ लाख बचत गर्ने लक्ष लिएको छ । बचत रकमवाट संघको भवन निर्माणको थालनी गर्ने समेत जनाएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, रत्यौली प्रतियोगिता, फलफूल तथा तरकारी प्रतियोगिता, पशुपंक्षी प्रतियोगिता, लोकभजन प्रतियोगिता, विद्यालय तथा क्लबस्तरीय नृत्य प्रतियोगिता, स्थानीय तह स्तरीय पन्चेबाजा प्रतियोगिता तथा समदायमा आधारित सांस्कृतिक झाँकी प्रतियोगिता समेत रहनेछन् ।
११ दिनसम्म सञ्चालन हुने मेलामा ४ करोडको व्यापारिक कारोबार हुने र साढे ३ लाख दर्शक भित्र्याउने लक्ष्य लिईएको छ । महोत्सव स्थल भिरकोट नगरपालिका वाड नं १ स्थित सिसौघारी रहेको छ ।