जिल्ला समन्वय समितिलाई भूमिका दिउँ — अध्यक्ष तिमिल्सिना
भवानी अधिकारी/स्याङ्जा
जिल्ला समन्वय समिति महासंघ नेपालको रजत महोत्सव स्याङजाको सदरमुकाम एवं पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ । शुक्रवार र शनिवार आयोजित दुई दिने महोत्सव भब्यताका साथ सम्पन्न भएको हो ।
पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उदघाटन गर्दै जिल्ला समन्वय समितिलाई भूमिका दिनुपर्ने बताएका छन । रजत महोत्सवको शुक्रवार साँझ स्याङजामा उदघाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जिससको आवश्यकता नभए किन संबिधानमा राखिएको भन्दै प्रश्न गरे ।
उनले भने ‘नचहिने भए किन संबिधानमा राख्ने ?, यदि चाहिएको हो भने उहाँहरुलाई भूमिका बिहिन नबनाउ ।’ आफु केन्द्रित अधिकारका चाहाना बनाउन हुदैंन । यस्ता स्वभाव र नियतलाई घटाउनुपर्दछ ।
ऐनमा उल्लेख छैंन भन्दै बस्नुभन्दा आवश्यकतालाई ध्यान दिदै सृजनात्मक कला प्रदर्शन गर्न जिसस पदाधिकारीलाई उनले सुझाव दिए । स्थानीय तह बिचका विवाद, समग्र जिल्लाको विवाद, बजेट, योजनाका अनुगमन र गुणस्तरीयताको चेकजाँच, असर, प्रभाव, निर्वाचन पूर्वाधारका क्षेत्रमा बिनियोजित ६÷६ करोड के हुदैछ भन्ने लगायतमा प्रभावकारी भूमिका खेल्नु पर्नेमा उनको जोड छ ।
कार्यक्रममा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले संबिधानले दिएको अधिकार प्रयोग गर्दे प्रदेश र स्थानीय तहबिचको समन्वयको भुमिकामा रहन सुझाव दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभामुख नेत्रप्रसाद अधिकारी, उपसभामुख सृजना शर्मा, संघीयसभा सदस्य नारायणप्रसाद मरासीनी, पूर्व जिल्ला विकास समन्वय महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद सापकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कडेंल, गण्डकी बिधायन समितिका सभापति मोहन रेग्मी, नगरपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य सीमा क्षत्री, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य खीम थापा लगायतले समन्वयले समग्र जिल्ला विकासका गतिबिधी लगायत सुशासनका बारेमा समन्वयकारी र अनुमगनको जिम्मेवारी सम्हाल्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तमान तामाङले स्वागत, जिल्ला समन्वय समिति स्याङजाका उपप्रमुख दिलिपकुमार बगालेले धन्यवाद एवं महासचिव नवराज गेलालले कार्यक्रम संचालन गरेका थिए ।
रजत महोत्सवमा जिल्लाका बिभिन्न स्थानीयतहका समुदायका कला, संस्कृतिका बारेमा जानकारी गराउन सोही स्थलका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । जिसस संस्थापक द्धय कृष्णप्रसाद सापकोटा र कृष्णलाल जैसीलाई सम्मान गरिएको छ । सहभागी सबैलाई स्याङजाका एघार वटै तहका एक÷एक बिशेष पर्यटकीय एवं धार्मिक स्थलको छनौटगरी मायाको चिनो प्रदान गरिएको छ ।
स्याङजामा ७६ वटै जिल्ला समन्वय समितिका पदाधिकारीहरुको जमघट भएको थियो । सबै जिल्ला समन्वय समितिका पदाधिकारीगरी झण्डैं ५ सय जना यहाँ आएको जिसस स्याङजा प्रमुख एवं महासंघका अध्यक्ष सीता सुन्दासले जानकारी दिईन । पर्यटन बर्ष २०२० लाई लक्षित गर्दे स्याङजाका महत्वपूर्ण स्थल फेदीखोला गाउपालिका स्थित गोरखा स्मारकको स्थलगत अवलोकन गराइएको छ ।
जिल्ला समन्वय समिति महासंघको २ दिने रजत महोत्सवलाई स्याङजाका एघार वटै स्थानीयतहको आर्थिक तथा प्राबिधिक सहयोग रहेको जिसस स्याङजाले जनाएको छ ।