वालिङ, २६ पौष ।
वालिङ ८ मा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले कमाएर मात्रै नभई बचाएर धनी भईने भएकाले बचत गर्नका लागि जोड दिएका छन् ।
आर्थिक आम्दानी धेरै हुने तर बचत भएन भने धेरै आम्दानी हुनुको अर्थ नहुने भएकाले वचत गर्ने बानीको विकास गर्दै आर्थिक समृद्धितर्फ लाग्न नगर प्रमुख खाँणले सुझाव दिए । “अबको युग आर्थिक समृद्धिको युग हो” नगर प्रमुख खाँणले भने, “घर घरको विकास नभई समुदाय, नगर र देशको विकास हुँदैन ।”
कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु पौडेलले यस सहकारीले यहाँको आर्थिक र सामाजिक विकासका लागि योगदान दिंदै आएको बताए । युवाहरुद्वारा सञ्चालित यस सहकारीले स्थापनाको छोटो अवधिमै छुट्टै पहिचान बनाउन सफल भएको उनको भनाई थियो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदी, राष्ट्रिय सहकारी बैंक वालिङका सहायक प्रवन्धक दिपेन्द्र घिमिरे, वडा नं. ८ का वडा सदस्य चेतनारायण श्रेष्ठ, रामबाच्छा वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक खिलराज पाठक, संस्थाका पूर्व प्रवन्धक शंकर सुवेदी, शेयर सदस्य पार्वती पंगेनी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष गोबिन्द तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बिजय कोईराला, स्वागत उपाध्यक्ष बिनोद पराजुलीले र धन्यवाद ज्ञापन सदस्य महेश रेग्मीले गरेका थिए ।