काठमाडौं, २४ पौष।
नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिशन अन्तर्गत इराकमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन दिएको छ। इरान र अमेरिकाबीच तनावको स्थिती बढेपछि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशानालयले सचेत रहन निर्देशन दिएको हो ।
निर्देशानालयले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शान्ति मिशन अन्तरगत इराकको क्रिकुक र इरबेलमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन दिइएको हो ।इरानले इराकस्थित दुई वटा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गरेपछि नेपाली सेनाले पहिलो पटक मुख खोलेको हो ।
‘इरानको आईआरजीसीका कासिम सुलेमानी विरुद्धको अमेरिकी कारबाहीको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न बेशमा मिसार्इल आक्रमण गरेको जानकारी प्राप्त हुन आएबाट युनामी मिसन इराकको किरकुक र इरबीलस्थित यूएन बेसमा तैनाथ नेपाल गार्ड युनिटका शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
निर्देशनालयले शान्ति सैनिकका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको जनाएको छ।