विश्व भट्टराई
चापकोट, २१ पौष ।
कृषिको आधुनिकिकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन कृषि, वन, पशु, विज्ञान जस्ता क्षेत्रसँग सम्बन्धीत विषयको एकीकृत रुपले अध्ययन,अध्यापन,अनुसन्धान गराई मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चापाकोट नगरपालिकाले प्राकृतिक स्रोत व्यवस्थापन कलेज स्थापना गर्न लागेको छ ।
प्राकृतिक स्रोत व्यवस्थापन कलेज कृषि तथा वन विज्ञान विश्वविद्यालयद्धारा सम्वन्धन लिएर चापाकोट नगरपालिका वाड नं ८ मा प्राकृतिक स्रोत व्यवस्थापन कलेज चापाकोट स्थापना गर्न लागिएको चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले जानकारी दिए ।
कलेज स्थापनाका लागि नगरपालिकाले झण्डै १ सय रोपनी जग्गा खरिद गरी सकेको जानकारी दिएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले कलेज स्थापनाका लागि २० लाख बजेट खर्च गरिसकेको जनाएको छ । कृषिलाई विकासको प्राथमिकतामा राखेको नगरपालिकाले कलेज स्थापना गरेपछि स्याङ्जा जिल्लाकै विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ ।
नगरपालिकाले कलेज स्थापनाका लागि सोमवार प्रदेश सभा सांसद भागवत प्रकाश मल्ल सहित स्थानीय सरोकारवालाहरु संग छलफल तथा परामर्श वैठक समेत बसेको छ । वैठकवाट कलेजलाई आवश्यक पर्ने जग्गा नगरपालिकाले व्यवस्थापन गर्ने र आवश्यक जनशक्तिको लागि नेपाल सरकार संग माग गर्ने निर्णय समेत गरेको छ । भने भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकार संग सहयोग गर्न अपिल गरिएको चापकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले जानकारी दिए ।
कलेज स्थापनाको प्रारम्भिक चरणको अनुगमनका लागि कृषि तथा बन विज्ञान विश्व विद्यालयका योजना प्रमुख अर्जुन कुमार श्रेष्ठले कलेज स्थापनाका लागि राज्यका तिनवटै तहका सरकार गम्भिर भएर लाग्नुपर्ने वताएका थिए । कलेज स्थापनाका लागि विश्व विद्यालय संग आवश्यक बजेट नहुँने र भएको बजेट प्रयाप्त नहुँने हुँदा तिनवटै सरकारको सामुहिक सहयोगमा मात्र स्थापना गर्न सकिने वताए । उनले भने वृस्तृत परियोजना रिपोर्ट तयार गरेपछि पूर्वाधार विकासमा सबै सरकारको सहयोग अनुसार निर्माण गरिने उनले बताए ।
बैठकमा प्रदेश सांसद मल्लले चापाकोटको विकासमा यस कलेजको महत्वपूर्ण भूमिका रहेको हुनाले आफूले आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । वैठक नगरपालिका प्रमुख शिव कुमार गिरीको अध्यक्षतामा बसेको थियो भने उपप्रमुख विमला श्रेष्ठ र चापकोटका स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।