काठमाण्डौ, १५ पौष ।
सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई स्वागत गर्न सबै सरकारी तथा सार्वजनिक निकायलाई आफ्नो कार्यालयमा मङ्गलबार र बुधबार दिपावली गर्न निर्देशन दिएको छ। भ्रमण वर्ष प्रवर्द्धनका लागि सरकारी एवं सार्वजनिक निकायले गर्नुपर्ने कार्यजिम्मेवारीमा उक्त निर्देशन दिइएको हो।
‘नेपाल भ्रमण वर्ष, २०२० को समुद्घाटन पुस १६ गते हुने भएकोले उक्त अवसरमा पुस १५ र १६ गते सबै सरकारी निकायमा दीपावली गर्ने व्यवस्था हुन निर्णयअनुसार अनुरोध गरिन्छ,’ कार्यजिम्मेवारीमा भनिएको छ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० को सुरुआत बुधबार काठमाडौंस्थित दशरथ रङ्गशालामा एक भव्य कार्यक्रम गरी गर्दैछ। २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको सुरुआत गरिँदैछ।
सरकारले भ्रमण वर्षको प्रवर्द्धनका लागि इन्टरनेट सेवा प्रदायकलाई इन्टरनेट सेवा खुल्दा भ्रमण वर्षको लोगो सबैभन्दा पहिला आउन व्यवस्था गर्न पनि भनेको छ। ‘नेपालभित्र इन्टरनेट सेवा प्रदायक विभिन्न संस्थाहरूले इन्टरनेट सेवा खुल्दा नेपाल भ्रमण वर्षको लोगो सर्वप्रथम आउने व्यवस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत मिलाउने,’ सरकारले भनेको छ।
सबै सरकारी निकायलाई आफ्नो वेबसाइट तथा अन्य आधिकारिक सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्षको लोगो अनिवार्य रूपमा राख्नसमेत भनिएको छ।
विदेश भ्रमण गर्ने सरकारी कर्मचारीले सम्बन्धित देशमा नेपाल भ्रमण वर्षको बारेमा अनिवार्य बताउनुपर्ने र नेपाल भ्रमणको लागि अनुरोध गर्नेसमेत कार्यजिम्मेवारीमामा उल्लेख गरिएको छ।
‘नेपालमा पर्यटकको आवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तव्यलगायत राष्ट्रिय राजमार्गका सडक तत्काल मर्मत गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने,’ कार्यजिम्मेवारीमा भनिएको छ।