काठमाडौं, ८ पुष ।
उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले सरकार छोडेको छ । मंगलवार सो पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेको हो । मङ्गलवार आकस्मिक रूपमा बसेको पार्टी पदाधिकारीहरूको बैठकले सरकार छोड्ने निर्णय गरेपछि सरकारलाई राजिनामा बुझाएको हो ।
उपप्रधानमन्त्री रहेका यादवले मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएका छन् ।तत्कालिन नेकपा एमाले र माओवादीको सरकारबीच भएको १४ बुँदे सहमति र संविधान संसोधन आफुहरुको प्रति सरकार उदासिन रहेकाले सरकार छोड्ने निर्णय गरेको राजिनामामा उल्लेख छ । साथै पुष ७ गते भएको मन्त्रीपरिषद बैठकमा पार्टीका तर्फवाट आफुले उठाएको माग प्रति वेवास्ता गरेको राजिनामा पत्रमा उल्लेख गरेको छ ।
मन्त्रिपरिषद बैठकमा संविधान संशोधनको लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गिठन गर्ने प्रस्ताव उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदिय मामिला सन्त्रीको हैसियतमा मैले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछाडी हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको स्पष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन ओचित्य नभएको हुँदा आजकै मितिवाट लागू हुनेगरी उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदवाट राजीनामा दिएको व्यहोरा अनुरोध छ विज्ञप्तीमा भनिएको छ ।
सो पार्टीका उपाध्यक्ष रकम चेम्जोङ पार्टीवाट सरकारमा सहभागी मन्त्रीहरुले मंगलवार नै राजिनामा दिएको बताए । मन्त्रिपरिषद्मा सो दलबाट यादव र सहरी विकासमन्त्री मो ईस्तियाक राई सहभागी छन्। गत वर्ष जेठमा सत्तारूढ दल नेकपासँग संविधान संशोधनसम्बन्धी दुईबुँदे सहमति गर्दै समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो।
सोमवार मन्त्रिपरिषद्को बैठकमा यादवले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरिदिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री उपेन्द्र यादवलाई मन्त्रिपरिषद बैठकमै हप्काएका थिए । दलहरुबीच छलफल नभएको अवस्थामा आफूलाई समेत बाइपास गर्दै संबिधान संशोधन जस्तो संवेदनशील बिषयमा मन्त्रिपरिषद बैठकमा ठाडो प्रस्ताव छलफलमा ल्याउन खोजेपछि प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत भएको एक मन्त्रीले बताए ।