भवानी अधिकारी/स्याङ्जा
संबिधानसभा सदस्य राजु थापाले यातायात ब्यवसायीका कुरा सरकारले सुन्न नचाहेको बताएका छन् । राज्यका हर नियम कानूनमा ब्यवसायी बाँधिदा समेत सरकारले ब्यवसायीलाई दोश्रो दर्जाकै रुपमा राखेको बताएका छन् ।
स्याङ्जा गण्डकी यातायात प्रा.लि.को प्रथम अधिवेशनको उदघाटन गर्दै संबिधानसभा सदस्य थापाले बिभिन्न वहानामा ब्यवसायीलाई तर्साउने, दुरावस्थाका सडक संजाल, सडक निर्माणमा ब्यापक भ्रष्टाचार, फितलो अनुगमन, चालकलाई प्रशिक्षणको अभाव लगायतमा राज्य चुकेको उनले आरोप लगाए ।
बढ्दो दुर्घटना न्यूनिकरणका लागि मुलुकको भौगोलिक अवस्था र नेपालमा भित्रिने सवारी साधनको गुणस्तरीयतामा सरकारले आवश्यकता अनुरुप चेकजाँचपास गर्नुपर्नेमा उनको सुझाव छ । ‘चालक पेशा इमान्दार पेशा हो । चालकसंगै सयौं यात्रुका जीवन जोडिएको बताउदै आफना पेशाको जिम्मेवारीबोध गर्दै सम्मानित पेशा बनाउन सहभागी चालकलाई उनले सुझाव दिए ।’
लामो यात्रापछि ठाउँ ठाउँमा आराम कक्ष निर्माण गर्नुपर्ने आवश्यकता औल्याउदै थापाले रिफ्रेस सेन्टरमा केही समय बसेर चिया, कफी, नुहाउने कक्ष लगायतको ब्यवस्था भएमा दुर्घटना कमी हुन्छ । नेपाली कांग्रेसका युवा नेता समेत रहेका थापाले भने ‘ठूल्ठूला कुरा गर्ने र आवश्यकताभन्दा बाहिर रहेर खर्च गर्ने स्थानीय, प्रदेश र संघ सरकारले स साना कुरामा ध्यान दिनसकेमा सबैको भलो हुन्छ ।’
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले चालक लगायत कर्मचारीका पक्षमा गरिएको पारिश्रमिक एवं सेवासुबिधाका प्रस्तावलाई सरकारले लत्याउने काम गरेको बताएका छन् । ६० बर्षपछि चालकको अनुमतिपत्र नविकरण नहुने बताउदै सदस्य मल्लले बर्षौंसम्म यात्रुका सेवामा खटिरहने चालकलाई सेवानिबृत्तपछि दिईने सेवासुबिधामा राज्यले वेवास्ता गरेको छ ।
‘स्थानीय अधिकार मन्त्रालयमा थन्किएको छ । विमा कार्यान्वयन भएको छैंन । बिज्ञभन्दा आफनाले काम टुङग्याउने प्रवृद्धीले ब्यवसायीलाई मार्का परेको छ ।’ मल्लले भने । स्याङ्जामा प्रधान कार्यालय रहेको प्रालि मार्फत संचालित यातायात ब्यवसायीलाई ढुक्क भएर हाल भएगरेका बिकृती हटाउदै स्वच्छ मन, बचन र कर्मले अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रहरी उपरीक्षक जनार्दन जि.सी., नेपाली कांग्रेसका सदस्य तारा मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिब जयनारायण श्रेष्ठ, गण्डकी यातायात प्रालिका सल्लाहकार एवं भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसी, पूर्व अध्यक्ष सुवेदार कृष्णमान श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, अधिबक्ता एवं निर्वाचन अधिकृत तुलसी गिरी, वडा अध्यक्ष भुवानीप्रसाद लामिछान, कालीगण्डकी यातायात प्रालिका अध्यक्ष भेमलाल पाण्डे, ब्यवसायीे मित्रबन्धु पोखरेल लगायतले यातायात ब्यवसायीका अवस्थाका बारेमा जानकारी गराएका थिए ।
स्याङ्जा गण्डकी यातायात प्रा.लि.का अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष महेशबहादुृर थापा गणेशले स्वागत एवं महासचिव भानुभक्त बरालले संचालन गरेका थिए ।
यसैबीच, अधिवेशनले पुष्पराज पोखरेलको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा अणबहादुर गोदार, महासचिवमा भानुभक्त बराल, कोषाध्यक्षमा महेशबहादुर थापा गणेश सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा दिेपेन्द्र क्षेत्री केसी, बिष्णुप्रसाद अधिकारी र तीलबहादुर थापा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक एवं तुलसी गिरीले जानकारी दिए ।
यस्तैगरी, यसअघिको गण्डकी यातायात वस ब्यवसायी समिति रहदादेखि कार्यरत दुईजना कर्मचारीद्धय घनश्याम पाण्डे र शालिकराम पाण्डेलाई नगद सहित सोही कार्यक्रममा सम्मान गरिएको थियो ।