नवलपरासी, ४ पौष ।
सेवाग्रहीसंग घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल डिस्वा मगर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २ लाख रुपैया घुस लिएको आरोपमा वडाध्यक्ष मगरलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार वडाध्यक्ष मगरले सेवाग्राहीको नाता प्रमाणित, घररगोठ बाटो प्रमाणित तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसँगको मिलेमतोमा २ लाख रुपैयाँ घुस लिएका थिए ।
अख्तियारले वडाध्यक्ष मगरसहित लेखनदास यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ । वडाध्यक्ष मगरलाई रामग्राम नगरपालिका(१८ स्थित होली चाइल्ड स्कुल नजिकबाट पक्राउ गरिएको हो ।