स्याङ्जा : यसपालि पनि स्याङजाका सुन्तला चीनको तिब्बत नजाने भएको छ। स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीनको तिब्बत निर्यात गर्ने सम्झौता भएको थियो। केही रोग र किरामुक्त गर्नुपर्ने शर्त पुरा गर्न नसक्दा यो वर्ष पनि स्याङजाका सुन्तला तिब्बत निर्यातको संभावना टरेको कृषि विज्ञान केन्द्रले जनाएको छ।
चीनको गुणस्तर सुपरीवेक्षण निरीक्षण, क्वारान्टेन र नेपाल सरकार, कृषि विभागले स्याङ्जाका सुन्तला चीन निर्यात गर्ने गरी २०६९ असार १५ मा चीनमा संम्झौता गरेका थिए। झण्डै ८ वर्ष बितिसक्दा पनि वर्षौंदेखिको पहल अझै पुरा हुन सकेको छैन। यसअघि, फल कुहाउने औंसा जातका ५ किसिमका किरा र सिट्रस ग्रीनिङ र ब्याक्टेरिया रोग नभएका सुन्तला जति पनि निर्यात गर्न सक्ने चीनले जनाएको थियो।
चीनका राष्ट्रपति नेपाल भ्रमण आउँदा अप्ठ्यारा बुँदामा परिमार्जन गरेर पुनः सम्झौता भएको छ। ‘सुन्तलाका दानामा किरा र सुन्तला बगैंचा रोगमुक्त’हुनु पर्ने चिनिया पक्षको अहिलेको शर्त छ। ती सबै व्यवस्थापन गर्न यसवर्ष नसकिएकाले चीन निर्यातको संभावना टरेको बताउँछन् कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी। उनले भने, ‘यो वर्ष हामी पूर्वाधार सहित अघि बढ्छौं, आगामी वर्ष सुन्तला निर्यातलाई सम्भव बनाउनेछौं।’ यसअघि भएको सुन्तला बगैंचाभरिको किरामुक्त हुनु पर्ने शर्त परिमार्जन गरेर ‘फल किरामुक्त हुनु पर्ने’ शर्त राखेकाले आउँदो वर्ष तिब्बत निर्यात संभव रहेको प्रमुख अधिकारीको भनाइ छ।
‘सुन्तलामा देखिएका रोग किरा नियन्त्रण, रोग लागेका बोट नष्ट गरी नयाँ र गुणस्तरीय बिरुवा लगाउने, आवश्यकता अनुसारको मलजल, गोडमेल गर्ने, बगैँचाको उचित व्यवस्थापन एवं संरक्षण, भण्डारणको व्यवस्थापन, रेखदेख र उपचार, आवश्यकता अनुरुपका पूर्वाधार निर्माण, सिंचाइ, किसानका लागि आवश्यकता अनुरुपको तालिमको व्यवस्थापन गर्न सकेमा यहाँका सुन्तला निर्यात गरी उचित नगद आर्जन गर्न सकिन्छ’, प्रमुख अधिकारी भन्छन्, ‘यसको विज्ञतामा कमी छैन। हामी पुरा गर्न सक्छौं। अर्को वर्ष तिब्बत निर्यात गर्न सम्भव छ।’
स्याङजा सुन्तला उत्पादनका लागि उत्कृष्ट जिल्ला हो। यहाँका हावापानी सुन्तला उत्पादनका लागि उपयुक्त छ। जिल्लालाई विशेष गरी सुन्तलाबाटै परिचित र समृद्ध बनाउने लक्ष्यसहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन घोषणा गरिएको छ। विसं २०७३-०७४ मा जोन कार्यान्वयन एकाइ घोषणा गरे पनि पछिल्लो वर्ष २०७५-०७६ मा पुनः सुपरजोन घोषणा भइ सुन्तला रोपणका गतिविधिलाई अघि बढाइएको सुपरजोन कार्यालय प्रमुख मदनकुमार श्रेष्ठले जानकारी दिए। प्रमुख श्रेष्ठका अनुसार यहाँका ४ स्थानीय तहका १७ वडामा गरी १ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको छ।
सुन्तला तीब्बत निर्यात गर्ने भनेपछि हौसिएका किसान अहिले दुखी बनेका छन्। केही वर्षअघि चिनिया सुन्तला विशेषज्ञ टोलीले पुतलीबजार नगरपालिकाका केही सु्न्तला बगैंचाको स्थलगत भ्रमण गरेका थिए। टोलीले स्याङ्जाका सुन्तलाका फल, हाँगा, पात नमूना परीक्षणका लागि चीन लगेका थिए। सुन्तलामा भएका नेपालको कुनै पनि रोग आफ्नो देशमा नभित्रिउन् भन्ने उद्देश्यले चिनिया सजग देखिएको भन्छन् ‘प्रधानमन्त्री सुन्तला सुपरजोन व्यवस्थापन समिति’का अध्यक्ष एवं सुन्तला किसान बोधराज अर्याल।
स्याङ्जामा गतवर्ष ४७ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो। यसवर्ष भने उत्पादकत्व प्रतिशत केही घट्ने देखिएको छ। गतवर्ष एक हजार ९ सय ८४ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाबाट १५ हजार १ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यसपालि १ हजार ९ सय हेक्टरमा रहेका सुन्तलाबाट १५ हजार १ सय मेट्रिकटन उत्पादन हुनसक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ। अन्नपुर्ण पोष्ठमा भवानी अधिकारीले प्रकाशित समाचार