भवानी अधिकारी / स्याङजा
पुस ४ देखि १६ गतेसम्म संचालन हुने छैठौं स्याङ्जा महोत्सव शुक्रवारदेखि सुरु हुदैछ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा पुतलीबजार नगरपालिका १ मालेबगरमा प्रदेश स्तरीय महोत्सव गरिने भएकोे हो ।
“स्याङ्जा महोत्सवको आधार–कृषि, पर्यटन नै आर्थिक विकासको पूर्वाधार” भन्ने मुलनारा सहित छैटौ महोत्सव हुने भएको हो । महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्णले जानकारी दिए ।
१३ दिन सम्म संचालन हुने महोत्सवमा आठ करोडको ब्यापार हुनुका साथै ३ लाख ५० हजार आन्तरिक र बाह्यि पर्यटकले अबलोकन गर्ने श्रेष्ठले बताए । महोत्सबमा एक करोड १५ लाख १० हजार आम्दानी गर्दै ६५ लाख ५० खर्चगरी बचत रकमलाई सामाजिक कार्य स्याङ्जा बजारमा सिसी क्यामेरा जडान जस्ता क्षेत्रमा खर्च गरिने श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, बृहत कृषि प्रदर्शनी, बिद्यालय स्तरिय नृुत्य, भलिबल, दोहोरी प्रतियागिता, रत्यौली महोत्सबका आकर्षण रहनेछन । दुई सय स्टल सहित महोत्सब स्थलमा मंच, स्टल, बाल उद्यान लगायतका सबै रहेका छन ।
महोत्सवको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले गर्नुहुने भएको छ । शुक्रवार बिहान ११ देखि शिक्षाचोकबाट बाजागाजा सहित झाँकी रयालीले नगर परिक्रमागरी मालेबगरमा पुगेर उदघाटन कार्यक्रममा सहभागी हुने संघले जनाएको छ ।