स्याङ्जा, २ पौष ।
अबैध धन्दा सन्चालनका लागि सहयोग गर्न सहयोग गर्न पर्यो भन्दै वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेलाई घुस दिन खोज्ने व्यापारी आफै प्रहरीको फन्दामा परेका छन् ।
घटना मंगलवारको हो, वालिङमा लामो समय राँगाको मासुको व्यापार गर्ने गरेका जहरुदिन मिया उर्फ बुच्चर साईलाले वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक घिमिरेलाई गोरुको मासु ओसार पसारमा सहयोगको आग्रह गर्दै प्रहरीको टेवलमा रकम राखेपछि उनलाई उक्त रकम सहित प्रहरीले पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा स्थित कार्यालयको जिम्मा लगाएको हो ।
रुपन्देही जिल्ला बसन्तपुर गाँउपालिका ४ स्थायी घर भएका मियाले वालिङका प्रहरी निरिक्षक घिमिरेलाई कार्यकक्षमै अबैध धन्दा सन्चालन गर्न सहयोग गर्नका लागि रु १५ हजार टेवलमा राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यकक्षमा काम गरिरहेका प्रहरी निरिक्षक घिमिरेलाई रकम टेबुलमा राखिदिएपछि रकम सहित मियालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । रकम लेनदेनको अवस्था भएकाले यो अख्तियारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक जनार्दन जिसीले जानकारी दिए ।
मियाले आफुलाई सहयोग हुन्छ भनेर रकम दिएको स्विकारेका छन् । प्रहरीले रकम नमागेको तर आफुलाई रकम दिएपछि प्रहरीबाट सहयोग हुन्छ भन्ने लागेर रकम दिएको मियाले बताए । मंगलबार नै प्रहरीले रकमको मुजुल्का, मेडिकल र थप अनुसन्धानका कागतजात तयार गरि अख्तियारको पोखरा स्थित कार्यालयलाई बुझाएको जनाएको छ ।
एकैचोटी मेरो कार्यकक्षमा मिया आए प्रहरी निरिक्षक घिमिरेले भने,“म गोरुको कारोवार गर्न लागेको छु हजुरलाई यो थोरै सहयोग हो भन्दै टेवुलमा रकम राखे ।” म त अलमल परे र तत्काल उनलाई रकम सहित नियन्त्रणमा लिएको हो घिमिरेले भने ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर अबैध धन्दा गर्न खोज्ने मियालाई पक्राउ गरेको प्रति स्थानीयले प्रहरीको उदाहरणीय कार्य रहेको भन्दै प्रशंसा गरेका छन्। प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर अबैध धन्दा सन्चालन गर्न खोज्ने जो कोहीलाई यो राम्रो सन्देश रहेको स्थानीयको भनाई छ ।