सिन्धुपाल्चोक, १९ मंसिर ।
दोलखा कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस सुनकोसी गाउँपालिका वडा ७ स्वारा मोडमा खस्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ । आइतबार बिहान लामोसाँघु जिरी सडकखण्डअन्र्तगतको ६ किलोबाट ५ किलोको सडकमै खस्दा घटनास्थलमै १२ को मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ पुरुष, २ बालक र एक बालिका रहेका छन् । मृतकमध्ये २ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा जुगल गाउँपालिका ७ हगामका २८ वर्षीय शुकबहादुर तामाङ र सोही स्थानकी ५ वर्षीया सविना तामाङ रहेका छन् ।
‘१८ घाइतेको काभ्रेको धुलिखेल अस्पताल र खाँडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ, तीनजना गम्भीर छन्,’ घटनास्थल पुगेका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । एकसय मिटर तल खसेको क्षतिग्रस्त यात्रुबसका मृतकको आफन्त नआइसकेकाले यकिन पहिचान खुल्न सकेको छैन ।
दोलखाको कालिन्चोक घुमेर फर्किएका भक्तपुर च्यामासिह, काभ्रे र सिन्धुपाल्चोक, जलविरे याङ्लाकोटजस्ता विभिन्न स्थानमा ३५ भन्दा बढी यात्रु बसमा सवार थिए । निर्माणाधीन लामोसाँघु जिरी सडकमा अस्वथ्य प्रतिस्पर्धा गरेर आएकाले यात्रुबस सडकबाट मोडिएर खसेको प्रहरीको भनाइ छ ।
‘यात्रु बस रिजर्भ गरिएको रहेछ, यात्रुबसमा ३२ जनाबाहेक एक–दुई जना मात्रै उभिएका थिए, चालक फरार छन्’ – उनले भने ।