स्याङ्जा, २५ मंसिर ।
आफ्नै आमाको हत्या गरेको आरोपमा चापाकोटका नारायण तिवारी पक्राउ परेका छन् ।
चापाकोट नगरपालिका वाडनं ७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने किटानी जाहेरी प्राप्त भएसँगै छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार छोरा नारायण तिवारीले मङ्सिर १२ गते अन्दाजी ४ः३० बजे आमाले लगाएको कपडा तथा घरको पिँढीमा दिसापिसाब गरेको कारणले रिस थाम्न नसकी आवेशमा आई घाँटी अठ्याएर मारेको खुल्न आएको छ ।
पक्राउ परेका नारायणलाई ज्यान सम्बन्धी कसुर ९कर्तव्य ज्यान० शीर्षकमा मुद्दा दर्ता गरी मङ्सिर २४ गते मङ्गलबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।