वालिङ, २२ मंसिर ।
स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले सुरक्षित गर्भपतन तथा सेवाको बारेमा आबश्यक जानकारीको अभावमा असुरक्षित गर्भपतन गराउने क्रम नरोकिएको बताएका छन ।
आईपास नेपालको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पुर्नताजगी तालिमका अवसरमा सहभागिहरुले आम नागरिकलाई जनचेतना गरि सुरक्षित गर्भपतन र निःशुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा सुचिकृत स्वास्थ्य संस्थामा उपलब्ध सेवाको बारेमा समुदाय स्तर सम्म जानकारी प्रवाह गर्नु पर्ने कुरामा जोड दिएका थिए । ।
गर्भपतनका बारेमा अझै समाजमा भ्रमहरु बिद्यमान रहेकाले महिलाहरु खुलेर सुचिकृत स्वास्थ्य संस्थाहरुमा आउन नसकेको वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले वताईन् । तिवारीले आम नागरिकको स्वास्थ प्रति नगरपालिकाले सर्वसुलव स्वास्थ्य सेवा प्राप्त गर्नेगरी योजना बनाएको जानकारी गराउदै नगरवासीलाई आफ्नो स्वास्थ्यमा खेलवाड नगरीकन सेवा लिन र स्वास्थ्यमा कामगर्ने कर्मचारी र स्वयम्सेवीकाहरुले उपलव्ध सेवाहरुको वारेमा जानकारी दिनुहुन आग्रह गरेकी थिइन् ।
अझै पनि नीजि मेडिकल तथा सूचीकृत नभएका स्वास्थ्य संस्थाहरुमा गर्भपतन गराउने र जोखिम बढेपछि मात्र अस्पतालमा उपचारको लागि आउने गरेको समेत पाईएको छ । सुरक्षित गर्भपतन र सेवाको बारेमा समुदाय स्तरमा जानकारी प्रवाह गर्न सके जोखिम न्युनिकरण गर्न सकिने वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए ।
आईपासका गण्डकी प्रदेश कोअर्डिनेटर थमकुमारी कुँवरले महिलाहरुमा गर्भपतनको बारेमा भ्रम र भेदभाव रहेको, लिंग पहिचान गरि गर्भपतन गराउने गरेको , पटक पटक गर्भपतन गराउदा महिलाहरुको स्वास्थ्यमा जोखिम बढेको बताएकी थिइन् । सुरक्षित गर्भपतन सेवाका वारेमा कहाँ र कसरी गर्न सकिन्छ, आम नागरिकलाई उपलव्ध सेवा कसरी लिन सकिन्छ भन्ने वारे सहजीकरण गरिएको थियो ।
तालिममा यहाँका ४० जना स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वगत सामाजिक विकास समिति संयोजक यगमाया पंगेनीले गरेकी थिइन् ।