कृषक र उपभोक्ता विचको सिधा सम्पर्क हुने माध्यम बन्नेछ हाट बजार – नगर प्रमुख
भिरकोट, १४ मंसिर ।
भिरकोट नगरपालिका वाड नं १ बसपार्कमा शनिवारदेखि साप्ताहिक हाट बजारको सुरुवात भएको छ । नगरपालिकाले कृषकको उत्पादन सिधै उपभोक्तासम्म पुर्याउन र उपभोक्तालाई शुद्ध अर्गानिक सागसब्जी तथा दैनिक प्रयोग हुने उपभोग्य वस्तुको सुपथ मूल्यमा बिक्रि बितरण गर्ने उद्धेश्यले शनिवारे साप्ताहिक हाट बजार संञ्चालनमा आएको छ ।
भिरकोट नगरपालिका र भिरकोट उद्योग वाणिज्य संघको सहकार्यमा बयरघारी बजार नजिकै साप्ताहिक हाट बजरको नगर प्रमुख छाँयाराम खनालले शनिवारवाट औपचारिक सुभारम्भ गरेका छन् । हाट बजारको शुभारम्भ गर्दै नगर प्रमुख खनालले कृषक र उपभोक्ता विच सिधै सम्पर्क गराउने महत्वपूर्ण माध्यमको रुपमा हाट बजार सुरु गरेको जानकारी दिए ।
हाट बजारमा स्थानीय उत्पादनलाई बढी भन्दा बढी विक्री वितरण गर्न अनुरोध गर्दै नगर प्रमुख खनालले स्थानीय उत्पादनले बजार भाउ पाउने भएकाले स्थानीय उत्पादनमा जोड दिनु पर्ने बताए । शुरुवाती चरणमा कम व्यवस्थित भएपनि विस्तारै हाट बजारलाई व्यवस्थित बनाउदै लैजाने समेत उनले जानकारी दिए ।
भीरकोट नगरपालिका क्षेत्र भित्र उद्योग वाणिज्य संघ संगको सहकार्यमा शनिवार एक दिन बजार बन्द गर्ने र हाट बजार खुला गर्दा नगर क्षेत्र भित्र उत्पादित अर्गानीक ताजा तरकारी, फलफुल अन्नवाली, पशुपंशी र घरेलु हस्तकला लगायतका विभिन्न सामाग्रीहरुको विक्रि वितरणमा सहजता आउने र कृषकहरुले आफूले उत्पादन गरेको वस्तुको मूल्य बढी पाउने हुनाले हाट बजार भिरकोटको आर्थिक विकास संग जोडिएको नगर प्रमुख खनालले बताए ।
उद्घाटन कार्यक्रममा भिरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीले हाट बजार सुरु भएर यसलाई निरन्तरता र व्यवस्थित बनाउन सबैपक्षको सहयोग अपरिहार्य रहेको बताएका थिए । हाट बजारमा बजारमा जस्तै समानहरु भन्दा पृथक अर्गानिक कृषि उपज, स्थानीयहरुले उत्पादन गरेको खसि बोका, हाँस कुखुरा, अन्नवाली, दुध जस्ता समाग्रीको सिधै कृषकहरुले विक्रि वितरण गर्न सके हाट बजारको प्रभावकारीता हुने बताएका थिए ।
उद्योग वाण्ज्यि संघ भिरकोटका अध्यक्ष भक्तवहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत निवर्तमान अध्यक्ष हर्कवहादुर गुरुङले गरेका थिए भने धन्यवाद बरिष्ठ उपाध्यक्ष जगदिश कोइरालाले गरेका थिए । कार्यक्रमको सन्चालन महासचिव नुवादत्त अर्यालले गरेका थिए ।
उता शनिबारबाटै सुरु भएको बजार भर्न गएका बयरघारी बजारका स्थानीयहरुले आर्गेनिक तरकारी तथा सब्जी बजारको अभाव रहँदै आएकोले अबको दिनमा यस्ता शनिबारे हाट बजारले सो कमी परिपुर्ति गर्ने बताएका छन् । अहिलेसम्म भिरकोटका उपभोक्ताले दैनिक उपभोग्य वस्तु तथा तजा तरकारी लगायतका वस्तुहरु बयरघारी बजारको मुख्य सडकखण्ड आसपासका पसलहरुवाट खरिद विक्रि गर्दै आइरहेका थिए ।