स्याङ्जा, १२ मंसिर ।
लागुऔषध ओसार पसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दुई जना यूवालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी अधिकृत सहितको टोलीले ट्राफिक चोक स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका २६ बस्ने बर्ष २२ को अष्टमान लामा र पर्वत जिल्ला कुश्मा घर भई हाल पुतलीबजार नगरपालिका १ बस्ने बर्ष ३० की मिना थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले जानकारी दिए ।
उनीहरुको साथबाट डाईजेपाम ४८ एम्फुल, फेनारगन ४८ एम्फुल र नोफिन ४८ एम्फुल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लामा र थापालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिएर थप अनुसन्धान पक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
खुला सिमा नाका र पोखरा सम्मको यात्राका लागि सिद्धार्थ राजमार्गको प्रयोग गरि लागुऔषध ओसारपसार गर्ने हुनाले पछिल्लो समय जिल्लामा यस्ता गतिविधिमा संलग्नहरु पक्राउ पर्ने गरेका छन् । लागुऔषध ओसार पसार गर्ने मुख्य ट्रान्जिट स्याङ्जा हुने प्रहरीलाई प्राप्त सूचनाका आधारमा जिल्लाभर प्रहरी परिचालन गरी चेकजाँचलाई कडाई गरिएको प्रहरी प्रमुख लम्सालले जानकारी दिए ।