भवानी अधिकारी
स्याङजा, ११ मंसिर ।
रोजगारका लागि भारतमा पुगी सेवा निवृत्त सैनिकहरुको संगठन अथवा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ स्याङजाले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई स्वागत एवं सम्मान गरेको छ । संघले सदरमुकाममा बृहत कार्यक्रमगरी बर्दियाबाट केही दिनअघि स्याङजा सरुवा भई आएका प्रजिअ कुरुम्वाङलाई बुधवार स्वागत एवं सम्मान गरेको हो ।
स्वागतपछि बोल्दै प्रजिअ कुरुम्वाङले पूर्व सैनिकका समस्याप्रति आफु गम्भीर भएको र पेन्सन लगायतका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘तपाईंहरुका समस्या के हुन लिएर कार्यालयमा आउनुहोस् , वडादेखि भारतीय पेन्सन क्याम्पसम्म बुझेर तपाईका समस्यालाई समाधान गर्नेछु ’ उनको भनाई थियो ।
बिपेश्रणले धानेको मुलुकको एक तिहाई अर्थतन्त्रलाई धानेको भारत, बेलायत सरकारको उल्लेख्य योगदान रहेको बताउदै प्रजिअ कुरुम्वाङले पूर्व सैनिकका समस्या नरहनेगरी सुल्झाउने काम गर्ने बताए । पूर्व सैनिकका स्वागतले आफुलाई सम्मान र चुनौती दुबै जिम्मेवारी मिलेको बताउदै आफु सबै जनताको सेवक भएर काम गर्न चाहेको र यस कार्यमा सहयोग गर्न आग्रह गरेका थिए । ‘जनताका करबाट जागिर खानेले शासकीय शैली त्याग्दै जनता जनार्दन मान्दै खराव ब्यवहार र आचरणमा परिवर्तन ल्याउन सके मात्र मुलुक बन्छ ’ भन्ने उनको धारणा थियो ।
कार्यक्रममा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ स्याङजाका अध्यक्ष क्याप्टेन गजबहादुर थापाले पूर्वसैनिक र उनीहरुमा आश्रित परिवारका पारिवारिक कागजात मिल्न नसक्दा ठूलो समस्यामा परेको जानकारी गराए । भारतले नाम अनुसारको कागजात माग्छ । नेपाल सरकारले त्यो दिन हिच्किचाउछ उनको गुनासो थियो ।
साना समस्या पनि सरकारले पहल नगरिदिदा ठुलो समस्यामा पर्नुपरेको बताउदै विगतका बर्षहरुमा प्रमुख जिल्ला अधिकारीले गरेको जति पनि सहयोग अहिले जनप्रतिनिधीले नगरेकोमा रोष प्रकट गरेका थिए । ‘गोर्खालीका पाखुरा छामेर लाने भारतले त्यतीवेला कागजात खोजेन, अहिले फर्कने बेलामा मिलेको कागजात खोज्छ । तर, नेपाल सरकारले दिन चाहदैंन । रेमिट्यान्स भित्रयाउने बर्गलाई उपेक्षा गरेकै छ । ’ अध्यक्ष थापाको भनाई थियो ।
कार्यक्रममा उपाध्यक्ष हवल्दार कृष्णप्रसाद पौडेल, सहसचिव लक्ष्मी थापा मगरले भारतीय पूर्व सैनिकका समस्याका बारेमा जानकारी गराएका थिए । संघका अध्यक्ष क्याप्टेन गजबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुवेदार भानबहादुर कुँवरले गरेका थिए । कार्यक्रममा पूर्व सैनिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।