वालिङ, १० मंसिर । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताएकी छन् ।
स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको जानकारी गराएकी छन् ।
हिजोका दिनमा परनिर्भरतामा रहेका महिला दिदीबहिनी आज आत्मनिर्भर बन्दै अगाडि बढिरहेको बताउदै मन्त्री अर्यालले भनिन्,“यो सुखद पक्ष हो यसलाई जोगाइ राख्न आवश्यक छ ।”
मन्त्री अर्यालले बचत तथा ऋण सहकारी संस्थाले बचत र ऋणको मात्रै कारोवार नगरी उत्पादनसँग जोडिएर जनमैत्री सहकारी कानून निर्माण गरी उत्पादनमा जोडिन पाउने ऐन बनाउने तयारीमा सरकार रहेको जानकारी दिँदै सरकारले कार्यक्रम दिन्छ, नीति दिन्छ, जीवन बदल्ने कार्यक्रम सहकारीमार्फत शुरु गर्ने योजना सरकारको रहेको बताएकी छन् ।
कार्यक्रममा वालिङ नगरपालिका उप प्रमुख कल्पना तिवारीले सहकारीले बचत तथा ऋणको मात्र कारोवार नगरी उत्पादन संग जोड्नुपर्ने बताएकी छन् । सहकारीको माध्यमवाट गरिवीको अन्त्य गर्न सकिने वताउदै गाँउ गाँउ सम्म सेवा प्रवाह जोड्नुपर्ने वताएकी थिइन् । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, कृर्षि सहकारीका तर्फवाट शोभा गैह्रे लगाएतका ले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सन्चालन सचिव नेत्र सुवेदीले गरेका थिए ।