काठमाडौं, ६ मंसिर । भारतसंग सीमा विवाद समाधानका लागि प्रधानमन्त्री स्तरमा कुटनीतिक पहलका लागि चौतर्फी दवाव बढीरहेको छ । सरकारले पनि बहसका लागि कुटनैतिक पहल गर्न कुनै कसर नछोडिएको अभिव्यक्तिहरु सार्वजनिक भइरहेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले पनि विहीबार नियमित पत्रकार सम्मेलनमा समाधानका लागि निरन्तर पहल भईरहेको दावी गरेका छन् ।
नेपालको प्रयासलाई भारतले वेवास्ता गरेको भारतीय अधिकारीको अभिव्यक्तिबाट देखिन्छ । नेपालको सीमा मिचिएको विषयलाई भारतले आफ्नो दावी गर्दै नक्सा सही भएको बताइरहेको छ ।
प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतले सीमा विवादलाई सुल्झाउन पर्याप्त पहलहरु भईरहेको दावी गर्दै आएका छन् । नेपालबाट पहल गरिएको दावी गरिएपनि भारत भने आफ्नो शुरुवाती अडान मै दृढ देखिएको छ ।
२ साता अघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको बताउँदै कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका छन् । र अहिले भारतको अभिव्यक्तिमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताको जवाफबाट के नेपाल सरकारले साँच्चै केही पहलहरु नभएकै हो त रु भन्ने प्रश्न आम नेपालीमा उठेको छ । कुटनैतिक पहल कुनै तामझामका साथ गरिने नभई आन्तरिक रुपमा हुने भएकाले सरकार आन्तरिक छलफल मै रहेको सत्तापक्षका नेता रामनारायण विडारी ले वताए।
सीमा विवाद समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा सबै पार्टी र विज्ञहरुले एकमतका साथ प्रधानमन्त्रीलाई अगाडी बढ्नका लागि साथ दिएका थिए । तर अझै पनि समाधानको कुनै लक्षणहरु देखा नपरेपछि प्रतिपक्ष नेपाली कांग्रेसलगायत सत्ताधारी दलकै नेताहरुले विभिन्न कार्यक्रमहरुमा आलोचना तथा टिकाटिप्पणीहरु गरिरहेका छन् ।
विहीबार त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रवादी प्रधानमन्त्री ओली समपर्णवादीमा परिणत भएकोसम्म भन्न भ्याए । यसरी सरकारमाथि भारतसँग तत्काल वार्ता गर्न चौतर्फी दवाव बढिरहेको छ ।