वाणगंगा, १ मंसिर । स्याङ्जाको वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारीको नेतृत्वमा नगरपालिकाहरुको भ्रमणका लागि गएको टोलीले वाणगंगा नगरपालिका को भ्रमण गरेको छ । वाणगंगा नगरपालिकाका जनप्रतिनिधि संग छलफल गरी विकास निर्माण, न्याय सम्पादनका विषयमा छलफल साथै अध्यायन अवलोकन गरेको छ ।
छलफल कार्यक्रममा सहभागी हुँदै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले वालिङ नगरपालिकाबाट वाणगंगामा आएर आफुहरुले गरेका कामको बारेमा बताउने र अन्य नगरपालिकाका गतिविधि आदान प्रदान गर्ने गर्नाले विकास अझ प्रभावकारी हुने बताएका थिए । वाणगंगा देशकै उत्कृष्ट नगरपालिका बनाउने ध्येयमा आफुहरु रहेको भन्दै हालसम्म भए गरेका कामहरुको अनुभव बताएका थिए ।
उप प्रमुख चक्रपाणी अर्यालले वाणगंगा नगरपालिका सहमती र सहकार्यका बीच आगाडी बढेको जानकारी गराएका थिए । नगरमा जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्ध स्थापित गरेर विकास निर्माणलाई प्रभावकारी ढंगवाट सन्चालन गरेको जानकारी गराएका थिए । नगरको विकासमा सबै एकजुट नहुने हो भने कामको प्रगति नदेखिने भन्दै उनले यसमा आफुहरु सचेत रहेको उल्लेख गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले वाणगंगाबाट जनताको सेवा प्रवाह चुस्त दुरुस्त राख्न यहाँको प्रशासन अत्यान्त गम्भिर भएर लागेको वताए । नगरलाई प्रविधिमैत्री बनाउने कार्यमा अगाडी वढेको जानकारी दिए ।
वालिङ नगरपालिकाकी उप प्रमुख कल्पना तिवारीले वालिङ नगरपालिकाको विकास निर्माण, न्याय सम्पादन र अन्य विषयगत समितीद्धारा भए गरेका कार्यहरुको वारेमा वताएकी थिइन् ।