भवानी अधिकारी
स्याङ्जा, २३ कात्तिक ।
मानव अधिकार तथा शान्ति समाज स्याङ्जाको १६ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका १ अभियानपथमा आयोजित साधारणसभामा मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका प्रतिक चार वटा मैनबत्ती बालेर उदघाटन गरिएको हो ।
उदघाटन कार्यक्रमका प्रमुख बक्ता गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लले कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो भूमि भएको बताउदै भारत सरकारले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन आग्रह गरे ।
बर्षौं पहिले नेपाल सरकारले सरकारी कामकाजका लागि अड्डा स्थापना गरेको स्थललाई भारतीय हस्तक्षेप सैह्य नहुने बताउदै सुगौली सन्धीको धारा ५ मा स्पष्ट उल्लेख भएको नेपाली भूमि भारतले जारी गरेको नक्शामा आफनो भूमि देखाउनु गलत रहेको मल्लले बताए ।
प्रदेश सभा सदस्य मल्लले भन,े ‘सो स्थलमा अड्डा स्थापनागरी मालपोत उठाएको इतिहास मेटाउदै कालापानी, लिम्पियाधुरा र लिपुलेक माथि बक्रदृष्ट्रि लगाई नेपाली सार्वभौमिकता हरण हुन हामीले कदापी दिने छैनौं ।’ सरकारले राजनीतिक एवं कुटनितिक पहलद्धारा नक्सा सच्चाउनका लागि पहल एवं दवाव दिनुपर्छ उनको भनाई थियो ।
मानवअधिकार तथा शान्ति समाजले मानवीय एवं सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको बताउदै यस्ता सामाजिक कार्यका लागि आवश्यक सहयोग गर्नेे प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी एवं युवा नेता अर्जुनप्रकाश अर्याल, मानवअधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष पृथ्वीप्रसाद पोखरेल, रिचमण्ड फेलोसीपका महासचिव रामप्रसाद लम्साल, उद्योग वाणिज्य संघका सदस्य सुमन गुरुङ, बिद्यार्थी नेता सुनिलबाबु चापागाई लगायतले शान्ति समाजका योगदानका बारेमा चर्चा गरेका थिए ।
मानवअधिकार तथा शान्ति समाजका सभापति प्रकाश डोटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव भवानी अधिकारीले गरेकी थिइन् । साथै, साधारणसभाले सभापति, सचिव, कोषाध्यक्षका प्रतिवेदन पारित गर्नुका साथै राष्ट्रियसभा बैठकमा सहभागी हुन जाने प्रतिनिधी एवं पर्यवेक्षकको चयन गरेको छ ।