केपी खनाल
स्याङ्जा, २२ कात्तिक ।
स्याङ्जाको गल्याङ नगरपालिकाले किसानहरुलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ । किसान सम्बन्धि विभिन्न संस्था तथा व्यवसायिक फर्महरुलाई अनुदानको रुपमा घाँसको विउ शुक्रबार वितरण गरिएको हो ।
कार्यक्रमबाट गल्याङ नगरपालिका भित्रका कृषि फर्म तथा व्यवसायिक कृषकहरुलाई झण्डै १७ सय किलोग्राम घाँसको विउ वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार जै जातको घाँसको विउ १६ सय किलोग्राम र बर्सिम जातको घाँसको विउ ७० किलो ग्राम वितरण गरिएको छ । विउ पाएपछि किसान उत्साहित भएका छन् ।
घाँसको विउ वितरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकाबाट दिइएको विउको सदुपयोग गर्न किसानहरुलाई आग्रह गरेका छन् । अधिकारीले अनुदानले मात्रै केही नहुने भन्दै किसान जागरुक हुन सकेमा मात्रै परिवर्तन सम्भव हुने बताए ।
पछिल्लो समयमा गल्याङ नगरपालिकाका किसानहरुमा उत्साह थपिएको देखेर आफुलाई निकै खुशी लागेको प्रशंग गर्दै अधिकारीले भने, “दुध किनेर खानुपर्ने नगरपालिकाबाट अहिले दैनिक २३ सय लिटर दुध निर्यात गर्न सकिएको छ । यो तपाईहरुकै कारणले हो ।” नगर प्रमुख अधिकारीले किसानमा अझै उत्साह थपेर यस वर्ष भित्र पाँच हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य रहेको स्पष्ट पारे ।
आफु किसानका लागि भरिया र गोठालो भएको भन्दै नगरप्रमुख अधिकारीले किसानका लागि सहयोग गर्न नगरपालिकाको तर्फबाट कुनै कसर बाँकी नराख्ने जानकारी दिए ।
विदेश गएर मसला ल्याउने र लाहुेर भन्ने चलन रहेको भन्दै अधिकारीले यो प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए । उनले भने, ‘विदेशबाट मसला ल्याउन सबै व्यस्त भयौं तर आफ्नै करेसाबारीमा मसला उत्पादन गर्ने सोच हामीमा आउन सकेन ।’
प्याज, लसुन, खुर्सानी जस्ता सामान्य कृषि उपज समेत आफै उत्पादन गर्न नसक्दा छिमेकी देशले समय समयमा जिस्काउने गरेको भन्दै नगर प्रमुख अधिकारीले राष्ट्रवाद बलियो बनाउन खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने जिकिर गरे ।