काठमाडौं, १८ कात्तिक ।
जबरजस्ती करणी प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पपक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
शुक्रबारदेखि जारी थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
पुर्पक्षका लागि कारागार पठाउन भएको यो आदेशसँगै मुद्दाको टुंगो नलागेसम्म महरा डिल्लीबजार कारागारमा रहनेछन्।
पीडितले दिएको जाहेरी, घटनास्थलको मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा पीडितले घटनास्थलमा दिएको बयानको आधारमा उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो । सरकारी वकीलको कार्यालयले गत बिहीबार महराविरुद्ध जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरेको थियो ।