केपी खनाल / गल्याङ, १८ कात्तिक ।
स्याङ्जाको गल्याङ नगरपालिकामा लगाइएको बेमौसमी मकै खेतीमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा आएको छ । नगरपालिकाका कृषि प्राविधिकको पहलमा अमेरिकी फौजी किराको प्रकोप नियन्त्रणमा आएको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख शिब ढकालले मकैका बोट कलिलै अवस्थामा भएकाले अमेरिकी फौजी किरा नियन्त्रण गर्न सकिएको जानकारी दिए । असोज २३ गते शाखा प्रमुख ढकाल सहितको टोलीले रोग प्रभावित क्षेत्रमा पुगेर रोगका वारेमा अनुसन्धान पश्चात उक्त रोग पत्ता लागेको हो । ढकालका अनुसार मकैमा लागेको रोग अमेरिकी फौजी किरा भएको पत्ता लागेपछि नियन्त्रणको प्रयास भएको बताए ।
नगरपालिकाका कृषि प्राविधिकहरु गिरिराज रेग्मी र सविता पाण्डेले किटनासक विषादी प्रयोग गरेर मकैमा देखिएको फौजी किरा नियन्त्रण गरिएको हो ।
आगामी वर्ष ‘पुस एण्ड पुल’ पद्दतिबाट मकै लगाई रोग लाग्न नदिने व्यवस्था गरिने समेत प्राविधिकहरुले जानकारी दिएका छन् । शाखा प्रमुख ढकालका अनुसार पुस एण्ड पुल सिद्धान्त अनुसार नेपियर र डेस्मोडीयम घास प्रयोग गरि किरा नियन्त्रण गरिनेछ । उनले भने –‘मकै को बिचमा डेस्मोडिएम घाँस र ओर पर नेपिएर घाँस लगाउने प्रविधि हुन्छ, जस्मा डेस्मोडिएम घास को गन्धले किरा मकैबाट पर भाग्छ र वरपर लगाएको नेपिएर घाँसमा अन्डा पार्छ । यसरि मकैमा किराको प्रकोप कम हुन्छ ।’
यसैवीच, गल्याङ नगरपालिका वडा नम्बर सात छाम्माटेमा किसानले लगाएको धानबालीमा देखिएको फौजी किरा पनि नियन्त्रण गरिएको छ । यस ठाउँमा देखिएको जिवाणु अमेरिकी फौजी किरा नभई फौजी किरा मात्रै रहेको कृषि अधिकृत तथा नगरपालिका कृषि शाखा ले जानकारी दिएको छ ।
तरकारी खेती, अन्य खेती तथा पशुमा रोग देखिएमा नगरपालिकाबाट तुरुन्तै उपचारको व्यवस्था भएपछि किसानहरु उत्साहित भएका छन् । गल्याङ नगरपालिकाले कृषि क्षेत्रको विकासमा जोड दिइरहेको छ ।