भवानी अधिकारी
स्याङ्जा, १० कात्तिक
लक्ष्मी सामुदायिक पुस्तकालय स्याङ्जाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औँ जन्मजयन्ती मनाएको छ ।
जन्मजयन्तीमा बोल्दै पुस्तकालयका अध्यक्ष अनन्तराज मरासीनीले नेपाली साहित्यमा वहुप्रतिभावान लक्ष्मीप्रसाद देवकोटा अजर र अमर रहीरहने बताउदै सबैले महापुरुषका सन्देशको अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष हेमराज अर्याल, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, प्रतिष्ठानका पूर्व उपाध्यक्ष चिन्तु गिरी, पुस्तकालयका सल्लाहकार अनन्तकुमार श्रेष्ठ, पत्रकार भवानी अधिकारी, कार्यक्रम उत्पादक बिक्रम परियार, वाल कबि परिवेश मरासीनी लगायतले कबिता वाचन गर्ने लक्ष्मीप्रसाद देवकोटा प्रति श्रद्धान्जली ब्यक्त गरेका थिए ।
अध्यक्ष अनन्तराज मरासीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेदप्रसाद दोंरंगाले स्वागत एवं सहसचिव बलराम दोरंगाले देवकोटाका जीवनीका बारेमा कार्यपत्र र सचिव धु््रवबन्धु पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
पुतलीबजार नगरपालिका १ स्थित सहिदचोका स्थापित लक्ष्मी सामुदायिक पुस्तकालय बिस २०४० सालमा स्थापना गरिएको हो । पुस्तकालयले दश बर्षअघिदेखि सामुदायिक रेडियो र हाल टेलिभिजन संचालनमा ल्याएको छ ।
यसैबीच, महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँशी अर्थात लक्ष्मीपूजाका दिन भएको हो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नु भएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्रि भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका उनीलाई चर्चित भने नेपाली साहित्यले गरायो । नेपाली साहित्यमा नयाा प्रयोगसागै एक मूर्धन्य साहित्यकारको छवि बनाएका थिए ।
काठमाडौंमा त्यतिबेला मध्यम परिवारमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकोले उनलाई लक्ष्मीको प्रसादको रुपमा मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत परेका थिए । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री समेत बनेका थिए ।