भवानी अधिकारी
स्याङ्जा, ८ कात्तिक ।
पुतलीबजार नगरपालिका ४ मा निर्मित स्याङजा भ्यू टावर तथा हरियाली उद्यानको बिहीवार साँझ गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले उदघाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले गण्डकी प्रदेशलाई मुलुककै नमूना पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकार लागि परेको बताएका छन् । मन्त्री लम्सालले भने, ‘सुन्दर मुलुकलाई सिंगार्न केही थोरै परिवर्तन गरेमात्र पनि धेरै सुन्दर र आर्कषित देखिने बताउदै यस्ता कामलाई सरकारले प्रोत्साहन गर्छ ।’
गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन रहेको बताउदै स्थानीय तह, क्लव, समूह र निजी क्षेत्रसंग सहकार्य गर्दै पर्यटकीय पूर्वाधार विकास र प्रवद्र्धनमा सहयोग गर्ने बताएका थिए ।
प्रकृती र संस्कृतीमा रमाउने पर्यटकलाई आर्कषित गर्न स्थानीय तहका वडा वडामा यस्ता नमूना काम गर्न समेत उनले सूझाव दिएका थिए । प्रदेश सरकारले आन्तरिक पर्यटन बर्ष सन २०१९ देखि २०२२ सम्म लाई सफल बनाउन र धेरै भन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउन यस्ता कार्यले सहयोग पुरयाउने दावी गरे ।
कार्यक्रममा प्रदेश सदस्यद्धय मिनप्रसाद गुरुङ र दिपक चर्ती मगर, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतली नगर प्रमुख सीमा क्षेत्री, नेकपाका नेता उदय श्रेष्ठ, बन उपभोक्ता महासंघका अध्यक्ष दोवबहादुर कार्की, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल, पर्यटन विकास समितिका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै नगरपालिकाको नमूना पर्यटकीय गन्तब्यलाई दिगोपनाको आवश्यकता ओैल्याउदै सहयोग गर्ने बताएका थिए ।
हरियाली उद्यान समितिका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष ओमबहादुर खडकाले स्वागत एवं डिभिजन बन कार्यालयका प्रमुख कोमलराज काफलेले धन्यवाद र स्थानीयबासी मनोज खडकाले संचालन गरेका थिए ।
बुढोखोला सुन्तलापाखो सामुदायिक बनको २२ रोपनी क्षेत्रफल भित्र शिव मन्दीर, पानीका फोहोरा, २ तले भ्यू टावर सहितको घर, कुरुवा बस्ने घर, पर्खाल, सुन्दर बगैंचा, प्रतिक्षालय, प्रवेशद्धार सहितको सुन्दर सिंढीहरु, रंगीचंगी फुल बगैंचा, खानेपानी, ब्यवस्थित शौचालय, हरियाली बातावरणमा बसेर स्याङजा बरपरका दृश्यावलोकन गर्न सकिने छ । दैनिक २ सय जना आन्तरिक पर्यटक आउने गरेको जनाउदै भ्यू टावर सहित सम्पूर्ण पूर्वााधार निर्माणका लगायत बिबिध पक्षका बारेमा वडा अध्यक्ष ओमबहादुर खडकाले जानकारी दिएका थिए । उनका अनुसार २ दशक भन्दा बढीको अथक मेहनत र परिश्रमको फल लिन पाएकोमा सहयोग गर्ने सबैप्रति उहाले धन्यवाद व्यक्त गरेका थिए ।
भ्यू टावर सहित हरियाली उद्यानका लागि प्रदेश सरकार, डिभिजन बन कार्यालय, पुतलीबजार नगरपालिका, स्थानीयबासी र बन उपभोक्ता समितिको सहयोग रहेको छ । करिब ८६ लाखको लागतमा पूर्वाधार निर्माण भएका हुन । आगामी दिनमा गुणीखोला मन्दिरदेखि ५ मिटर पैदल यात्रा र अर्कोतर्फ रहेको सडक यात्राको स्तरोन्नती गर्ने जानकारी दिइएको छ ।
सोही कार्यक्रममा बन उपभोक्ता समितिका संस्थापक अध्यक्ष एवं भ्यू टावर शिलान्यास गरको रणबहादुर थापा, मन्दिर निर्माणमा सहयोग गर्ने निन्द्रादेवी थापालाई मरणोपरान्त र बन उपभोक्ता समितिमा रहेर २१ बर्षसम्म अनवरत सेवा गर्नु भएका तथा हालका उपाध्यक्ष साबित्रा भुजेललाई सोही कार्यक्रममा सम्मान गरिएको थियो ।
हाइटेक विरुवा नर्सरीको उद्घाटन
सब डिभिजन बन कार्यालयमा रहेको हाइटेक बिरुवा नर्सरीको पनि उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले बिहिवारै उदघाटन गरेका छन् । पुतलीबजार नगरपालिका ३ स्थित आफनै कार्यालय हाताभित्र रहेको नयाँ प्रबिधियुक्त हाइटेक नर्सरीको उदघाटन उद्घाटन गरिएको हो । कार्यालयमा आयोजित कार्यक्रममा बन अधिकृत अम्वरबहादुर पराजुलीले सहजीकरण गरेका थिए ।