काठमाडौं, ८ कात्तिक ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई निरंकुशतातर्फ धकेलिरहेको भनेर नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापा गर्जिएपछि नेकपा सिन्धुपाल्चोकमा पहिरो गएको छ ।
नेकपा सरकारले चुनावका बेला गरेका वाचा पूरा नगर्दा गाउँघरमा समस्यामा परेका नेकपाका नेता कार्यकर्ता गगन थापाको आड पाएपछि कांग्रेसमा प्रवेश गरेका हुन् ।नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ कार्यसमितिले मेलम्चीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाको राष्ट्रिय युवा संघका क्षेत्रीय सभापति योङ तामाङ लगायत नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।कार्यक्रममै राप्रपा र राप्रपा संयुक्तका स्थानीय तहका उम्मेदवार, नेकपाका विभिन्न तहका नेता कार्यकर्तासहित ३०० जनाभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
कार्यक्रमको सभापति क्षेत्रीय अध्यक्ष आइतमान तामाङ, प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेल, विशिष्ट अतिथि पूर्व मन्त्री तथा सांसद गगन थापा, विशेष अतिथि जिल्ला सभापति विकास लामा रहेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेताहरूले कम्युनिस्ट सरकारले गरिरहेका अवैध कामबारे प्रकाश पारेका थिए ।