काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङ मार्गको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको इतिहासमै पहिलो पटक राजमार्ग अन्तरगतको सो सुरुङ मार्गको सोमबार एक कार्यक्रमका बीच शिलान्यास भएको हो ।
उहाँले सो कार्यक्रममा बोल्दै नेपाल सुरुङ मार्गको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै आम नेपाली जनतालाई बधाई दिएका थिए। प्रधानमन्त्री ओलीले जलविद्युतको क्षेत्रमा, सिंचाईको क्षेत्रमा नहरहरु बनेपनि राजमार्गमा सुरुङ निर्माणका कार्य पहिलो पटक नेपालमा भएकोमा आफूलाई खुसी लागेको पनि बताए।
प्रधानमन्त्रीले सो सुरुङमार्ग तोकिएको समयमा सम्पन्न गर्न जापानको हाजमा इन्डो कर्पोरेशनलाई सचेत पनि गराएका थिए । ४२ महिना भित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्ग जापान सरकारको ऋण सहायतामा बन्न लागेको हो ।त्यस अवसरमा प्रधानमन्त्री ओलीले सो सुरुङ मार्ग निर्माणका लागि सहयोग गरेकोमा जापान सरकार र जापानी जनताप्रति पनि आभार व्यक्त गरेका थिए । उहाँले आफू नेतृत्वको वर्तमान सरकारले नेपालको ईतिहासमा यति धेरै सडक निर्माण गरेको कहिल्यै नभएको पनि स्पष्ट पारे।
उनले सुरुङ मार्ग निर्माणको अन्य कामलाई पनि सरकारले तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे । टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेँसी सुरुङ मार्गलाई पनि अगाडि बढाउन लागिएको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।
‘१६ सय किलो मिटर सडक त कालोपत्रे गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एयरपोर्टहरु बन्दैछन, फाष्ट ट्रयाक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ, नेपालको इतिहासमा यति धेरै सडक मार्ग कहिल्यै बनेको थिएन ।’
प्रधानमन्त्री ओलीले अव सडक पेटीमा कुनै पनि मानिस देख्न नपर्ने दावी पनि गरे । उनले सडक पेटीमा कोही मानिस भए सरकारले उनीहरुको आवासको व्यवस्था गर्ने आश्वासन पनि दिए ।कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो सुरुङ मार्ग निर्माणको काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले काठमाडौंको सडक आगामी पुस महिनाभित्रसम्म कालोपत्रे गरिसक्ने दावी गरे ।
कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत मासामिची साईगोले सो सुरुङ मार्गको निर्माण कार्यले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका सघाउ पुर्याउने विश्वास व्यक्त गरे । उनले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि सो सुरुङ मार्ग निर्माण कार्य उपयोगी हुने पनि बताए।
जापानको ऋण सहयोगमा निर्माण हुने लागेको सो सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर रहेको छ । १३ अर्व ५० करोड बजेट लाग्ने अनुमान गरिएको सो सुरुङ मार्गका लागि जापान सरकारले नेपाललाई शून्य दशमलव शुन्य १ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो ।