वालिङ नगरपालिका वाड नं ६ स्थित बैडा थाममा नवनिर्मित भ्यू टावर तस्वीर : हिमदुत डट.कम
वालिङ, ३ कात्तिक ।
वालिङ नगरपालिका वाड नं ६ स्थित बैडा थाममा पर्यटकीय गन्तव्य निर्माण गर्न पूर्वाधार विकास गरिदै छ । वालिङ बजारवाट नजिकै रहेको बैडा थाममा डिभिजन बन कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको भ्यू टावरले त्यहाँको पर्यटकीय सम्भावनालाई थप मद्दत गरेको शनिवार भ्यू टावर उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथी वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारीले सम्वोधन गर्दै
तस्वीर : हिमदुत डट.कम
बैडा थाम सामुदायिक बन उपभोक्ता समिती र स्थानीयको सक्रियतामा निर्माण गरिएको पानी पोखरी र भ्यू टावरको वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारीले उद्घाटन गरेकी हुन् । टावरको उद्घाटन गर्दै तिवारीले यहाँको विकास र पर्यटकीय चहलपहल विस्तारका लागि आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन ।
उनले पर्यटन विकासका लागि स्थानीयको सक्रियता महत्वपूर्ण हुने भन्दै त्यसका लागि तल्लो तहबाटै प्रबद्र्धनात्मक काम गर्न सुझाव दिएकी छन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गर्नका लागी होमस्टे र छुट्टै खालको पहिचान आवश्यक छ, यसका लागि आजैवाट पहल गर्नुपर्ने बताइन।
उप प्रमुख तिवारीले आफ्नो बाल्यकालको सम्झना गर्दै थामको चौर संग आफ्नो जीवन जोडिएको उल्लेख गर्दै वालिङ नगरपालिका क्षेत्र भित्र रहेका पर्यटकीय सम्भावनाका क्षेत्र मध्येको महत्वपूर्ण ठाउ रहेकाले नगरपालिकाले पनि यसको विकास र यहाँको पर्यटकीय पूर्वाधार विकास गर्न रणनीतिक योजना निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।
उद्घाटन कार्यक्रममा उपस्थित अतिथीहरु तस्वीर : हिमदुत डट.कम
कार्यक्रममा डिभिजन बन कार्यालय स्याङ्जाका प्रमुख कोमल काफ्लेले जैविक विविधता संगै यहाँको पर्यटकीय सम्भावनालाई लिएर सामुदायिक बन उपभोक्ता समिती मार्फट टावर र पोखरी निर्माणमा सहयोग गरेको बताउदै यसको संरक्षण र सम्वद्धनमा यहाँका स्थानीयको चासो आवश्यक रहेको औल्याए ।
बन अधिकृत काफ्लेले बैडा थाममा बन्य जन्तुको संरक्षण र पर्यटनको सम्भावना दुबैलाई मध्येनगर गर्दै पोखरी र टावरका लागि अनुदान प्रदान गरिएको उल्लेख गर्दै स्थानीयको अग्रसरतामा यहाँको पर्यटन विकासका लगि उत्पादनमा जोड दिन आग्रह गरे । बन जंगल र बन्य जन्तु मानब जीवन संग जोडिएको हुनाले यसको संरक्षण जरुरी रहेको बताए ।
कार्यक्रममा यूवा समाजसेवी नेत्र प्रसाद पाण्डेले बैडा थाममा निर्माण गरिएको टावरले यहाँको मात्र नभएर वालिङ नगरपालिकाकै पर्यटकीय सम्भावनालाई नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए । आफ्नो ठाउँको विकासका लागि स्थानीयकै अग्रसरता आवश्यक रहेकाले यस ठाउँको पर्यटकीय विकासमा आफू सबै संग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
वालिङ मिर्दिबाट १ किलोमिटरको दुरीमा रहेको उक्त स्थानबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृङ्खला, पर्वतका विभिन्न भागहरु, र पिङ्क सिटी वालिङ, नागवेली आँधीखोलाको दृष्यावलोकन गर्न सकिन्छ । भने वालिङवाट नजिकको दुरीमा रहेकाले उपयुक्त पिकनिक स्पोर्टका रुपमा धेरैको रोजाइमा परेको छ । शनिवार यहाँ समुह समुहमा पिकनिकका लागि आउने गरेका छन् ।
भ्यू टावरवाट आँधीखोला लगायतका दृष्यहरु तस्वीर : हिमदुत डट.कम
भ्यू टावर ४ लाख ९२ हजार लागतमा निर्माण गरिएको हो । भने, पोखरी २ लाख २१ हजार लागतमा निर्माण सम्पन्न भएको उपभोक्ता समितीका कोषाध्यक्ष हरीवहादुर थापाले जानकारी दिए । जिल्ला वन कार्यालयबाट टावरका लागि चार लाख र पोखरीलाई दुई लाख अनुदान प्राप्त भएको थियो भने बाँकी रकम स्थानीयले जुटाएका थिए ।
उद्घाटन कार्यक्रममा सव बन कार्यालय वालिङका हेमलाल न्यौपाने, वालिङ नगरपालिका सामाजिक शाखा अधिकृत पदमप्रसाद पाण्डे, शाखा अधिकृत खुमकान्त अर्याल, रामबाच्छा सामुदायिक बनका अध्यक्ष टिकाराम रेग्मी लगायतले बन जंगल र पर्यटनका विषयमा आफनो धारणा राखेका थिए । माया पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मुक्तिप्रसाद पाण्डे, सञ्चालन सचिव डोलराज पंगेनी, धन्यवाद नन्दुराज अर्यालले गरेका थिए ।