भवानी अधिकारी
स्याङ्जा, २८ असोज ।
शंखनारायण साहित्य पुरस्कारबाट स्याङजामा दुई जना स्रस्टाहरु सम्मानित भएका छन् । स्याङ्जामा जन्मेर साहित्यतर्फ कलम चलाउने दुवै जना स्रस्टालाई आर्थिक बर्ष २०७५ र ७६ बाट उनीहरु सम्मानित भएका हुन् ।
शंखनारायण साहित्य संस्थाको आयोजना तथा स्याङजा सहित्य प्रतिष्ठानको सहयोगमा पुरस्कार वितरण कार्यक्रम गरिएको हो ।
राजनीतिज्ञ एवं समाजसेवी काजीमान श्रेष्ठ र गोपालमान श्रेष्ठद्धारा आफ्नो बुबाको नाउँमा स्थापित पुरस्कारबाट कबि ज्ञानेश्वर रेग्मी र कथाकार सुन्दर मानन्धर सम्मानित गरिएको हो । उनीहरु दुबैजनालाई जनही ५÷५ हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
वालिङ् नगरपालिका निवासी कवि ज्ञानेश्वर रेग्मीका चार वटा साहित्यिक पुस्तक प्रकाशित भएका छन् । उनले हल्छारो, मालचरी, गोमाता लगायतका कबिता र भागवत गीताको नेपालीमा अनुवाद गरेका छन् ।
यसैगरी, हरिनास गाउपालिका क्याक्मी निवासी सुन्दर मानन्धरले प्रयोगशील र आधुनकि शैलीका कथाहरु लेखेका छन । उनका फ्रेमभित्र भन्ने कथा पुस्तक प्रकाशित भएको छ ।
दुबै स्रस्टालाई सम्मान गर्दे पुरस्कारका संरक्षक एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले साहित्य र कला जीवनको अभिन्न अंग भएको बताउदै कला र संस्कृतीको संरक्षणका लागि आफु र दाजुको पहलमा बुवाको नाउँमा अक्षयकोष स्थापना गरी प्रत्येक बर्ष एक जना साहित्यिक स्रस्टालाई सम्मान गरिरहेको जानकारी दिए । साहित्यमा समेत रुची राख्ने श्रेष्ठले साहित्यले मुलुक र समाजको बास्तविक चित्रण गर्ने बताएका थिए ।
विस २०१९ सालमा निबन्ध प्रतियोगितामा सर्वोत्कृष्ठ भई गोल्ड मेडल जित्न सफल भएको स्मरण गर्दै नेता श्रेष्ठले २०१८ सालमा पूर्वपश्चिम राजमार्ग निर्माणपछि यसका फाइदाका बारेमा आयोजित अन्तर मावि स्तरीय राष्ट्रिय खुला निबन्ध प्रतियोगितामा सर्बोत्कृष्ठ भएको जानकारी दिए । श्रेष्ठको राजनीतिसंगै साहित्यतर्फ पनि चासो र रुची देखिएको छ । पुरस्कारलाई जीबन्त राख्ने बताउदै हाल जिल्ला स्तरीय पुरस्कारलाई अव बिस्तारगरी प्रदेश स्तरीय बनाउनेतर्फ आफनो सोच रहेको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस कार्यवाहक सभापति कुमार राना, प्राध्यापक डाक्टर यामबहादुर क्षेत्री, सम्मानित स्रस्टा ज्ञानेश्वर रेग्मी र सुन्दर मानन्धर लगायतले साहित्य र जीवनका बारेमा आ आफना धारणा ब्यक्त व्यक्त गरेका थिए ।
स्याङजा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य त्रिभुवन शर्माले स्वागत एवं सचिव रविन केसीले संचालन गरेका थिए । विस २०४६ मा नेपालमा प्रजातन्त्रको स्थापनापछि श्रेष्ठ दाजुभाईले बुवाको नाउमा २०४९ सालमा शंखनारायण साहित्य पुरस्कार स्थापना गरेका थिए ।