स्याङ्जा ३ असोज ।
गत भदौ १७ गते स्याङ्जाको हरिनास गाउँपालिका ३ ललहीका ३३ वर्षीय गोरे भन्ने चित्रबहादुर खड्का र उनका ४ वर्षीय छोरा रिजन खड्का हत्याकाण्डमा संलग्न सोही स्थानका दिपक भन्ने दानबहादुर मल्ललाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बाबुछोरा हत्याकाण्डमा मृतककी श्रीमती अनिता खड्काले दिएको किटानी जाहेरीका आधारमा असोज १ गते मल्ललाई पक्राउ गरी सार्वजानिक गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार श्रीमतीको किटानी जाहेरी र प्रहरीको अनुसन्धानबाट समेत मल्लको संलग्नता देखिएकाले पक्राउ गरी जिल्ला अदालतमा विहिबार पेस गरिको थियो । गत भदौ १७ गते सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी दुई बाबुछोराको हत्या भएको थियो ।
घटना भएको दिन मृतककी श्रीमती अनिताले घटनामा संलग्न मानिसले कालो माक्स लगाएर आएको वताएकी थिइन् । उक्त सूचनाका आधारमा प्रहरीले गरेको अनुसन्धान पश्चात हत्या आरोपी मल्लको घरवाट घटनामा प्रयोग गरेको खुकुरी समेत बरामद गरेको थियो । पक्राउ परेका मल्ललाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।