काठमाडौं २ असोज ।
सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको आजको तेस्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
पत्रमा चालू अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने उल्लेख छ । बैठकको अन्त्यमा सभामुख महराले भने, “चालू अधिवेशन राति १२ बजेबाट स्वतः अन्त्य हुने गरी बैठक स्थगित भएको छ । वर्षे अर्थात् बजेट अधिवेशनका रुपमा वैशाख १६ गतेबाट शुरु भएको यो अधिवेशनमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भई पारित भएको थियो । यो अधिवेशन १४४ दिन कायम रहेकोमा ६० दिनमा ६५ पटक बैठक बसी १९३ घन्टा ४० मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।”
यो अधिवेशनमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक दुई पटक बसी ४ घण्टा पाँच मिनेट समय व्यतित भएको थियो । यस अधिवेशनमा प्रतिनिधिसभामा १७ वटा सरकारी विधेयक दर्ता भएकामा सात वटा विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भइसकेका छन् ।