भवानी अधिकारी
स्याङ्जा २ असोज
पुतलीबजार नगरपालिका १ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बिहीवार बिभिन्न भातृसंगठनबीच अन्र्तक्रिया गरिएको छ । नेपाली कांग्रेसद्धारा जारी दोस्रो चरणको जागरण अभियान अन्र्तगत कांग्रेसका सबै भातृसंगठनका धारणा एवं राय सुझाव संकलन गर्ने उदेश्यले अन्र्तक्रिया गरिएको हो ।
अन्र्तक्रियापछिको कार्यक्रममा बाल्दै संबिधानसभा सदस्य झुलबहादुर आलेले केही प्राबिधिक कारणले नेपाली कांग्रेसले पराजय भोग्नु परेको बताउदै यसबाट शिक्षा लिएर आगामी दिनमा बिजय हुने सकारात्मक कार्यहरु गर्न गराउन सबै भातृ एवं मातृसंस्थालाई सुझाव दिएका थिए ।
नेपाली नागरिकका स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्रको पक्षमा बिभिन्न कालखण्डमा राणाशासनदेखि निरंकुश सासन ब्यवस्थालाई पराजित गर्दै आएको स्मरण गराउदै नेपाली कांग्रेसको नीति र सिद्धान्त बमोजिम अघि बढ्न उनले आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि तुलसीराम श्रेष्ठ, गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ, कार्यवाहक सभापति कुमार राना, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, महिला संघका सभापति कल्पना तिवारी लगायतले बिगतका तिक्तता बिर्सेर नयाँ शिराबाट पार्टीलाई अघि बढाउनुको बिकल्प नरहेको जोड दिएका थिए ।
कार्यक्रममा महिला संघ, बिद्यार्थी संघ, तरुण दल, भूतपूर्व सैनिक संघ, मुस्लिम संघ, दलित संघ, जनजाती संघ लगायतका भातृसंगठनका प्रमुख तथा प्रतिनिधीहरुले आफना समस्याका बारेमा जानकारी एवं सुझाव दिएका थिए ।
क्षेत्रीय सभापति जनकराज खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव डीआर पोखरेलले गरेका थिए ।