वालिङ, १ असोज ।
वालिङको पूर्णामृत भवानी माविमा अध्ययनरत विद्यार्थीहरुको निशुल्क रुपमा आँखाको परिक्षण गरिएको छ । लायन्स क्लब अफ वालिङ सिटि, लियो क्लब अफ वालिङ र लायन्स क्लब आफ पोखरा सेन्ट्रल जोनको संयुक्त आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा परिक्षण शिविर सञ्चालन गरिएको हो ।
शिविरबाट विद्यालयका ४ सय ६७ जना बालबालिकाहरुका आँखा परिक्षण गरिएकोमा १८ जना विद्यार्थीहरुको आँखामा विशेष उपचार गर्नु पर्ने समस्या देखिएको लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।
कार्यक्रमको उद्दघाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खांणले आँखा जीवन र ज्योती भएको भन्दै यसको सुरक्षाको लागि विशेष ख्याल गर्नु पर्नेमा जोड दिए । नगरप्रमुख खाँणले भने,“देखेर वुझ्नको लागि आँखा अनिवार्य हुन्छ ।” लायन्स क्लव अफ वालिङ सिटिले आफ्नो स्थापना काल देखि आँखाको मोतियाविन्दुको समस्यालाई समाधान गर्न लागि परेको स्मरण गर्दै प्रमुख खाँणले थपे,“मोतियाविन्दुको समस्या समाधान पछि बालबालिकाको आँखा तर्फ ध्यान दिनु सह्रानिय कार्य हो ।”
कार्यक्रममा लायन्स क्लबस अफ ईन्टरनेश्नल डिस्ट्रिक ३२५ बि. वान पुर्व डिस्ट्रिक सेक्रेटरी एवं साईट फर किड्स एवं पढाऔँ अभियानका डिर्पाटमेन्ट चिफ चण्डीप्रसाद अर्यालले १५ बर्ष मुनिका बालबालिकाहरुको आँखाको सुरक्षाको लागि कार्यक्रम अगाडि सारिएको जानकारी दिए ।
अर्यालले पुर्णामृतमा १ लाखको अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका छन् । आफ्नो क्लबको तर्फबाट विद्यालयको नीति सिद्धान्तका अनुसार १ लाखको अक्षयकोषको स्थापना गर्ने अर्यालले जानकारी दिएका छन् ।
सो अवसरमा लायन्स क्लब अफ वालिङका पुर्व अध्यक्ष कविता गैह्रे, लायन ध्वजाको अभिवादन सदस्य पुष्पा अर्याल, स्वागत पूर्णामृत भवानी माविका प्रधानाध्यापक परशुराम लम्साल, सञ्चालन सचिव दिपक लम्साल र धन्यवाद विद्यालयका सहायक प्रधानाध्यापक यमकान्त खनालले गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । भट्टराईले जिल्ला मै पहिलो पटक लायन्स क्लवले बालबालिकाहरुको सामुहिक निशुल्क आँखाको परिक्षण गरेको वताए। वालिङका सवै विद्यालयहरुमा निशुल्क आँखा परिक्षण गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी समेत सोही अवसरमा दिए । लिओ क्लव अफ वालिङका नवनिर्वाचित अध्यक्ष विदुषा बस्नेत सहितको टोलीले शिविरमा सहजीकरणको काम गरेका थिए ।