मिना कंडेल
नवलपुर, १ असौज ।
कृषकले उत्पादन गरेका कृषि उपजलाई सोझै उपभोक्ता सम्म पु्याउने उद्देश्यले देबचुली नगरपालिकामा कृषि उपज बिक्री केन्द्र स्थापना गरिएको छ । बुधवार वाट उक्त केन्द्रको औपचारिक रुपमा शुभारम्भ भएको छ ।
देवचुली नगरपालिका सहित जिल्लाका पहाडी क्षेत्रका कृषकलाई आफूले उत्पादन गरेका कृषि उपजको भण्डारण र बजारीकरणमा सहयोग पुगोस् भन्ने हेतुले बिक्री केन्द्र स्थापना गरि संचालनमा ल्याईएको संस्थाका अध्यक्ष हुकुम बहादुर सुवेदीले बताए ।
देवचुली नगरपालिका वडा नं १३ का अध्यक्ष क्याप्टेन डिल वहादुर खत्रीले कृषि उपज विक्री केन्द्रमा पुजा गरि केही तरकारी खरिद गरेर औपचारिक रुपमा सन्चालन गरिएको हो । उपज केन्द्रमा कृषि चौतारीका रुपमा मापदण्ड अनुसार कृषकलाई आफ्नो उपज बिक्रीका लागि सोहीअनुसार निःशुल्क उपलब्ध गराइने कृषि शाखा देवचुली नगरपालिका कृषि शाखाका नरेन्द्र भण्डारीले बताए । बाँकी रहेका स्थानका लागि निश्चत शुल्क लिएर कृषकलाई उपलब्ध गराउने भण्डारीले जानकारी दिए ।
जिल्लाका पहाडी क्षेत्रको बजार आवतजावत गर्ने मुख्य मार्गमा पर्ने भएकाले सो क्षेत्रका कृषकलाई उपज बिक्री केन्द्र लाभदायी हुने अध्यक्ष सुवेदीले वताए । उनका अनुसार पहाडी क्षेत्रमा उत्पादन हुने अदुवा, अम्रिसो, सुन्तला लगायतका कृषि उपजको बजारीकरणका लागि उचित स्थान नहुँदा किसानले सस्तोमा बिक्री गर्नु परिरहेको थियो । बिक्री केन्द्रको स्थापनाले किसानले बजारमा भण्डारण गरी सोही स्थानबाट बिक्री गर्ने सक्ने हँुदा कृषकलाई लाभ पुग्ने सुवेदीको भनाई छ ।
सहकारीले कृषि उपज बिक्री केन्द्र सहित शित भण्डार र बीउ बैंक समेत स्थापना गरेको छ । अध्यक्ष सुवेदीले भने, ‘रैथाने प्रजातिका बीउ हराउँदै जान थालेको ले यसको संरक्षणका लागि बीउ बैंक स्थापना भएको छ ।’
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको रु २४ लाख, देव प्रगति बहुउद्देश्यीय सहकारी संस्थाको रु चार लाख २७ हजार सात सय ८४ र अन्य सहयोग गरी रु २९ लाख १४ हजार पाँच सयको लागतमा कृषि उपज बिक्री केन्द्र निर्माण गरिएको सहकारी संस्थाले जनाएको छ ।