वालिङ, ३१ भदौ ।
संविधान दिवस २०७६ भव्यरुपमा मनाउन वालिङ नगरपालिकाले विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट गरी विशेषरुपमा मनाइने भएको छ । विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो ।
असोज २, ३ र ४ गते गरी तीन दिनसम्म विविध कार्यक्रम सहित भब्यताकासाथ संविधान दिवस मनाउन लागिएको हो । जसका लागि नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा पाँच सय एक सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको छ ।
नगरपालिकाले सम्पूर्ण सरकारी कार्यालय र आम नागरिकका घरमा राष्ट्रिय झन्डा फहराउँदै साँझ दीपावली गर्ने निर्णय गरिएको छ । यसका लागि आमरुपमा प्रचारप्रसार र सन्देश पु¥याउने काम भइरहेको वालिङ नगरपालिकाले जनाएको छ ।
संविधान दिवसलाई थप ब्यवस्थित बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले जानकारी दिए । मूल समारोह समितिको निर्णय अनुसार असोज २ गते बिहान रोटरी क्लब वालिङको संयोजनमा ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र र वालिङ हस्पिटलमा रहेका विरामीहरुलाई फलफूल वितरण, सोही दिन नगरस्थित सबै विद्यालयहरुमा संविधानसम्बन्धी कविता, वक्तृत्वकला, हाजिरीजवाफ सञ्चालन गर्ने, वडा नं. ९ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ, वालिङ टेलिभिजन र प्याब्सनको संयोजनमा क्याप, टिशर्ट तथा झण्डा निर्माण गरी वितरण गर्ने निर्णय भएको छ ।
त्यस्तै असोज ३ गते बिहान वालिङ उद्योग वाणिज्य संघ तथा राष्ट्रिय दलित समाजको संयोजनमा नगरपालिका कार्यालयबाट विभिन्न समुदायका झाँकी, बाजागाजासहित प्रभातफेरी तथा अन्तरक्रिया, साँझ ५ बजे वालिङ जेसीजको संयोजनमा वालिङ मोडमा दीप प्रज्वलन गर्ने र पदम गुरुङको संयोजनमा वालिङ मोडमा देशभक्तिपूर्ण कन्सर्ट गर्ने कार्यक्रम तय भएका छन् ।
त्यस्तै असोज ४ गते सरसफाई समितिको संयोजक यु्गमाया पंगेनीको संयोजनमा सरसफाई अभियान सञ्चालन गरिने भएको छ । संविधान दिवसका अवसरमा असोज २ देखि ४ गतेसम्म बस्तु तथा सेवाको बिक्रीमा छुट दिने, घर घरमा नेपालको राष्ट्रिय झण्डा राख्ने तथा दीपावली गर्ने, रेडियो तथा टेलिभिजनमा संविधानसम्बन्धी परिसंवाद सञ्चालन गर्ने निर्णय भएको हुँदा सबै पक्षबाट सहयोग गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।
गल्याङ नगरपालिकाको भव्य तयारी
उता गल्याङ नगरपालिकाले पनि संविधान दिवस भव्य रुपमा मनाउने भएको छ ।
गल्याङ नगरपालिकाको कार्यालयमा बसेको नगर कार्यपालिका, राजनीतिक दलका प्रतिनिधि सहितको बैठकले संविधान दिवस भव्य रुपमा मनाउने तय गरेको हो ।बैठकले नगरप्रमुख भुपराज अधिकारीको अध्यक्षतामा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।
नेपाल सरकारको निर्णय अनुसार असोज दुई गते देखि चार गतेसम्म संविधान दिवस मनाउन मुल आयोजक समिति गठन गरि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
बैठकको निर्णय अनुसार असोज दुई गते देखि चार गतेसम्म प्रत्येक दिन नगरपालिकाका घरघरमा दिपावली गरिनेछ । असोज दुई गते नगरपालिकाका सबै क्षेत्रमा विशेष सरसफाई गर्ने तथा दुई गते नै संविधान दिवसका अवसरमा माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै दुई गते नै स्थानीय एफएम तथा टेलिभिजनमा संविधान दिवशका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । यसैगरी मुख्य कार्यक्रमको रुपमा संविधान जारी भएको दिन असोज तीन गते प्रभातफेरी र समारोह गरिने भएको छ ।
विहान ११ बजे गल्याङबजारको भानुभक्त माध्यमिक विद्यालयबाट सुरु हुने प्रभातफेरी लेमभित्तामा रहेको मगर भवनमा पुगेर सभामा परिणत गर्ने तयारी गरिएको छ । बैठकले प्रभातफेरीमा सहभागी हुनका लागि स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, क्लबहरु, आमा समूह सहित सबैलाई आह्वान गरेको छ । प्रभातफेरीमा स्थानीय कला र संस्कृति बोकेका झाँकी तथा पञ्चेबाजा समेत सहभागी गराउने तय गरिएको छ ।
सभामा यसै क्षेत्रको निर्वाचनबाट संविधानसभामा पुगेका व्यक्तित्वहरु तथा यसै क्षेत्रका विभिन्न तहका नेताहरुलाई पनि निमन्त्रणा गर्ने निर्णय भएको छ । कार्यक्रममा गल्याङ च्याम्बर अफ कमर्सले देशभक्तीपूर्ण सांगितिक प्रस्तुति राख्ने कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले जानकारी दिए ।
बैठकमा नगरप्रमुख भुपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, वडा अध्यक्षहरु, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटि अध्यक्ष नारायणप्रसाद अधिकारी, नेपाली काङ्ग्रेस नगर समिति संयोजक श्यामप्रसाद बस्याल, गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, गल्याङ उद्योग वाणिज्य संघका महासचिव कृष्ण भट्टराई, सदस्य हुमकान्त पाठक, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
गल्याङमा मोटर साईकल सर्भिसिङमा ५० प्रतिशत छुट
यसैवीच, संविधान दिवशको अवसरमा गल्याङ बजारमा विशेष छुट हुने भएको छ ।
गल्याङ च्याम्बर अफ कमर्श र गल्याङ उद्योग वाणिज्य संघले संविधान दिवशको अवसरमा आफ्ना प्रतिष्ठानहरुमा असोज दुई, तीन र चार गतेसम्म वस्तु तथा सेवामा विशेष छुट दिने बताएका हुन् ।
गल्याङ उद्योग वाणिज्य संघको सहकार्यमा असोज दुई तीन र चार गते गल्याङ मेनरोडमा रहेको त्रिपुत्र मोटरसाईकल सर्भिसमा ५० प्रतिशत छुट तथा सिद्वान्त डेन्टल केयर सेन्टरमा दाँत तथा मुखको उपचार तथा परामर्श सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको संघका सदस्य हुमकान्त पाठकले जानकारी दिए ।