पर्वत २९ भदौ ।
दक्षिणी पर्वतको व्यापारिक क्षेत्रको रुपमा विकास हुँदै गएको पर्वत जिल्लाको पैंयु गाउँपालिका स्थित हुवासमा पर्वत उद्योग बाणिज्य संघको पैंयु उपशाखा स्थापना भएको छ ।
उद्योग वाणिज्य संघ पर्वतमा उक्त क्षेत्रवाट १ सय १५ जना सदस्य रहेका थिए । तिनै सदस्यहरुको सक्रियतामा हुवासमा उपशाखा घोषणा तथा कार्यालय उद्घाटन गरिएको हो ।
उपशाखा कार्यालयको उद्घाटन गर्दै पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले उद्योगी तथा व्यावसायीहरुको हकहित संरक्षणका लागि उद्योग बाणिज्य संघले लामो समयदेखि भूमिका खेल्दै आएको बताउँदै सवै व्यावसायीहरुलाई राज्यको न्यूनतम मान्यतामा रहेर व्यापार व्यावासय गर्न आग्रह गरेका थिए । निजि क्षेत्रको व्यावसायिक सुरक्षाका लागि संघ प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष शर्माले राज्यले पनि व्यावसायीहरुका लागि उचित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख यामकुमारी राना, पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, इलाका प्रशासन कार्यालय हुवासका प्रमुख विमल गौतम, नेकपा पैंयु गाउँ कमिटिका अध्यक्ष चोकलाल न्यौपाने, आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदी लगायतले वोलेका थिए ।
हुवास उपशाखा कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको हो । नवगठित उपशाखाको उपाध्यक्षमा बसन्ती क्षेत्री, सचिबमा लोकराज उपाध्याय, कोषाध्यक्षमा नरभुपाल काफ्ले, सहसचिबमा अमृत आचार्य र सदस्यहरुमा कृष्णप्रसाद रिजाल, आईशा खानुन, तेजबहादुर विक, मेखबहादुर राना, लक्ष्मिपती न्यौपाने, कल्पना क्षेत्री, सरस्वती तिवारी, जिवलाल बस्याल, विरबहादुर थपा, जगदिश बसेल, नरेश आले र तिलकप्रताप सेन रहेका छन्। पर्वत उद्योग बाणिज्य संघको यो दोस्रो उपशाखा हो । यस अघि जलजला गाउँपालिकाको वारीबेनीमा पनि उपशाखा स्थापना भैसकेको छ ।