स्याङ्जा, २८ भदौ ।
गरिमा विकास बैंकको ८३औं शाखा वालिङ १३ झलुङ्गेमा शुक्रवार शुभारम्भ गरेको छ । शाखाको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणवाट शुभारम्भ भएको हो । शाखा उद्घाटन गर्दै नगर प्रमुख खाँंणले आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि बैंक तथा वित्तीय संस्थाहरु गाँउ गाँउ सम्म पुग्नु पर्ने वताएका थिए ।
नगर प्रमुख खाँणले बैंक तथा वित्तीय संस्थाहरु जति धेरै यस ठाउँमा भित्र्याउन सक्यो त्यति नै सेवाग्राहीलाई सहजता हुने बताए । बैंक तथा वित्तीय संस्थाहरुको संख्या तथा कारोबार बढेसँगै यस क्षेत्रको आर्थिक गतिविधि चलायमान भएर जाने उनको जिकिर थियो ।
नगर प्रमुख खाँंणले यस क्षेत्रमा कृषि तथा पशुपालनमा रुचि राख्ने कृषक तथा पशुपाल्न ईच्छुकहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गरी ब्यवसायिक अभिबृद्धिका लागि सहयोग गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिएका थिए ।
उद्घाटन कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष आनन्द पाठक, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल लगायतले यहाँका स्थानीयलाई आर्थिक कारोबारका लागि अन्यत्र जानुपर्ने अवस्था हटेर गएको बताएका थिए ।
बैंकका अध्यक्ष चन्द्रकान्त बरालले धनी र गरीव दुवैलाई समान दृष्टिले हेरी बैंकिङ सेवा मार्फत आर्थिक उन्नतीमा सघाउने वताए ।
कार्यक्रममा स्वागत प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल, सञ्चालन कम्पनी सचिव मावधप्रसाद आचार्य र धन्यवाद सञ्चालक श्यामप्रसाद बस्यालले गरेका थिए। कार्यक्रम बैंकका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बैंकको यो ८३ औं शाखा हो । वालिङमा २ र स्याङ्जामा ७ शाखाहरु सञ्चालनमा रहेका छन् । २०६४ साल कार्तिक १ गते वालिङबाट बैंकले आफ्नो औपचारिक कारोबार शुरु गरेको थियो । अहिले बैंकको केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा रहेको छ । बैंकका कार्यकारी अधिकृत ढकालका अनुसार दशैँ अगाडि बैंकले विभिन्न स्थानमा ७ शाखा विस्तार गर्दै ९० पु¥याउनेछ भने चालू आर्थिक वर्षमा १०६ वटा शाखा पु¥याउने छ । बैंकले ३२ जिल्लामा शाखा सञ्चालन गरेको छ ।