स्याङ्जा २७ भदौ ।
गरिमा विकास बैंकले साना शहरी खानेपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङलाई शुद्ध पिउने पानी प्रशोधन गर्ने मेसिन अनुदानमा उपलव्ध गराएको छ ।
बैंकको सामाजिक उत्तरदायीत्व बहन कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकामा वितरण हुने खानेपानी शुद्धीकरण गर्ने मेसिनको शुक्रवार संस्थाले आयोजना गरेको कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले उद्घाटन गरेका छन् ।
मेसिन उद्घाटन गर्दै नगर प्रमुख खाँणले खानेपानी शुद्धिकरण गरि नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराउन गरिमा विकास बैंकको सो कार्यको प्रशंसा गरे । उनले वालिङ नगरपालिका स्मार्ट सिटी निर्माणको चरणमा रहेको वेला स्मार्ट सिटीका इन्डिकेटर मध्ये शुद्ध पिउने पानी पनि रहेको वताएका थिए । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमवाट शुद्ध पिउने पानी नागरिकलाई उपलव्ध गराउन प्राथमिकतामा राखेको जानकारी दिएका छन् । नगर क्षेत्र भित्र सन्चालनमा रहेका खानेपानीहरुलाई एकतृत गरि जनतालाई शुद्ध पानी वितरणका लागि नगरपालिकाले स्रोत व्यवस्थापनमा लागि परेको समेत जानकारी गराएका छन् ।
कार्यक्रममा गरिमा बिकास बैंकका अध्यक्ष चन्द्रकान्त वरालले पानीकै कारण विभिन्न रोग निम्तिने भएकाले स्वास्थ्यको ख्याल गर्दै बैंकले पानी शुद्धीकरण गर्ने मेसिन जडान गर्नमा सहयोग गरेको वताए । बैंक नाफा कमाउने व्यवसाय मात्र नभई कमाएको नाफा मध्ये केही प्रतिशत समाजिक कार्यमा लगाउने उद्देश्यले साना शहरी खानेपानीलाई सहयोग गरेको अध्यक्ष वरालले जानकारी दिए ।
कार्यक्रममा गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले स्मार्ट सिटी उन्मुख वालिङ नगरपालिकाले पुर्वाधार निर्माण गर्दा अन्तराष्ट्रिय मापदण्डको निर्माण गर्नुपर्नै भएकाले वैंकले अत्याधुनिक फिल्टर मेसिनलाई अनुदान सहयोग गरेको वताए । उद्घाटनमा वालिङ नगरपालिकाका पूर्व मेयर लालचन्द्र गैह्रे, साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, कोषाध्यक्ष चोप नारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । भने कार्यक्रम संस्थाका सचिव खगेन्द्र अर्यालले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष विद्या श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
विश्व प्रसिद्ध स्पेनमा निर्मित AZUD DISC Manual Filter खरिद गरि जडान गर्न बैंकले रु पाँच लाख अनुदान सहयोग गरेको थियो । लेखनाथ साना शहरी खानेपानीका कार्यालय प्रमुख शिव आमात्यको प्राविधिक सहयोगमा मारुती ट्रेड लिंक पोखराले उक्त फिल्टर जडान गरेको हो । फिल्टरले प्रतिघण्टा ५७ हजार लिटर पानी शुद्धिकरण गर्छ ।
फिल्टर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मोदीखोला स्कीममा जडान गरिएको छ । उक्त फिल्टरवाट शुद्धिकरण गरिएको पानी भकुण्डे, भुम्रे, क्याम्पसरोड र फ२लवारीका झण्डै १५ सय घर परिवारका १२ हजार जनसंख्याले उपभोग गर्ने संस्थाका कार्यालय प्रमुख देव वोगटीले जानकारी दिए ।
२०५९ मा स्थापना भई २०६२ वाट सन्चालनमा आएको साना शहरी खानेपानी उपभोक्ता संस्थाले हाल चारवटा ठाँउवाट पानी वितरण गरिरहेको छ । वालिङ, भकुण्डे फूलवारी, त्रियासी र रामवाच्छावाट दैनिक १३ लाख लिटर पानी वितरण गरिदै आएको छ । कूल २३ सय उपभोक्ता रहेको संस्थाले २२ हजार जनसंख्यालाई खानेपानी वितरण गर्दै आइरहेको छ ।