स्याङ्जा २५, भदौ ।
डेंगु रोगको सम्भावित खतरालाई मध्येनजर गर्दै वालिङ महानगरपालिकाले समुदाय परिचालन अभियान सुरु गरेको छ । डेंगुका विषयमा जनचेतना फैल्याउन महानगरपालिकाले सरोकारवाला संगको छलफल पश्चात आज टोल टोलमा डेंगु रोगका वारेमा र नियन्त्रणका उपायका वारेमा जानकारी दिएका छन् ।
वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँणको नेतृत्वमा वालिङ नगरपालिकाका बजार क्षेत्रका सम्भावित ठाँउहरुमा पुगी लामखुट्टे हुर्कने, पानी जमेको स्थान, फोहर रहेको स्थानमा लार्भा पहिचान गरी विषादी छर्केर लामखुट्टे नष्ट गरिएको हो ।
वालिङमा पनि पहिलोपटक डेंगुका बिरामी भेटिएपछि नगरले सचेतना र निरोधका लागि अभियान सुरु गरेको हो । नगरपालिकाले गत आइतवार नगरपालिकाको कार्यालयमा जनप्रतिनिधि र सरोकारवालासंग छलफल गरेर टोल टोलमा सरसफाई र लामखुट्टेका कारण रोग सर्ने हुनाले सचेत गराउन आफ्नो टोल समुदायमा डेंगु फैलिन नदिने उपायका बारेमा जानकारी दिन सबै जनप्रतिनिधि र सरोकारवालालाई आग्रह गरेको छ ।
नरपालिकाले सबै नगरबासीलाई आफ्नो घरमा पानी जम्ने थोत्रा पुराना सामान परीक्षण गर्न र त्यसलाई बिसर्जन गर्न आग्रह गरेको छ । त्यसबाहेक महानगरपालिकाले सबै वडाका टोल तथा सडकमा लामखुट्टे नियन्त्रण गर्न विषादी आवश्यक परेमा नगरापालिकाले निशुल्क उपलव्ध गराउने समेत नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिए । सामान्य ज्वरो आउदैमा त्रसित नहुन नगरवासीलाई आग्रह गर्दै नगर प्रमुख खाँणले लामो समयसम्म ज्वरो आउने निको नहुने र शरिर दुख्ने भएमा प्राथमिक स्वास्थ्य केन्द्रमा गई चिकित्सकलाई देखाउन समेत आग्रह गरेका छन् । डेंगु रोगको परिक्षण र उपचार वालिङमै हुने व्यवस्था गरिएको समेत जानकारी दिए ।
डेंगु एडिस एजिप्टाई र एलबोपिक्टर्स नामक संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । नेपालमा सन् २००६ मा पहिलो पटक यो रोग भेटिएको थियो । अहिलेसम्म डेंगुबाट १५ जनाको ज्यान गएको छ । सफा पानीमा डेंगुको वृत्ति विकास हुन्छ । ३० दिन बाँच्ने यो लामखुट्टेको दुई तिहाई जीवनचक्र पानी भित्र चल्ने गर्छ । पानी बाहेक अन्यत्र रहेको यसको अन्डा महिनौंसम्म जीवित रहने र अनुकुल समयमा लार्भा निस्किने गर्छ । महत्त्वपूर्ण के छ भने डेंगु संक्रमित लामखुट्टेको अण्डासमेत संक्रमित हुन्छ ।
डेंगु संक्रमण गराउने लामखुट्टे दिउँसो टोक्ने प्रकृतिको हुन्छ । यसबाट बच्न घर वरिपरि पानी जम्न नदिने, झुल टाँगेर सुत्ने गर्नुपर्छ । यसैगरी रोग लागेमा उच्च ज्वरो नियन्त्रण गर्न सिटामोल प्रयोग गर्ने, बढी झोल पदार्थ खाने, आराम गर्ने जस्ता उपाय अवलम्बन गर्नु पर्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।