वालिङ,२४ भाद्र
वालिङ नगरपालिकामा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा नम्वर १ र १० मा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रियामा बोल्ने कृषक तथा उद्यमीहरुले आ—आफनो समस्या तथा भोगाईहरुका बारेमा बोलेका थिए ।
वडाका उद्यमी तथा कृषकहरुले बिभिन्न उत्पादनमा बजारको समस्या भएको गुनाशो गरेका छन् । उनीहरुले बजारमा सहजै आफूर्ती नहुनुका साथै उचित मुल्य समेत पाउन नसकेको बताएका हुन् । कृषकहरु भन्छन, “जंगली जनाबरको समस्या त छदैछ तर पनि दुःखसँग उत्पादन गरेको बस्तुले बजार नपाउदा हामी निक्कै हतास हुनु पर्दछ ।”
वालिङ १ खहरेमा भएको कार्यक्रममा बोल्दै वालिङ नगर पालिकाका प्रवक्ता एवं वडा अध्यक्ष केदार काफ्लेले नगरपालिकाको प्रत्यक्ष नियन्त्रण, नियमन र निगरानीमा कार्यक्रम शुरु भएको जानकारी गराए । उनले कार्यक्रममा आवद्ध भई व्यवसायीक बन्न कृषक तथा अन्य उद्यमीहरुलाई आग्रह समेत गरे ।
त्यस्तै वालिङ १० मा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष अनन्तराज गैह्रेले उद्यमीहरुको वडा बनाउने अभियानमा आफूहरु लागि परेको जानकारी दिए । नगरलाई आर्थिक रुपमा सवल बनाउने लक्ष्य राखेर कार्यक्रम शुरु भएको भन्दै अध्यक्ष गैह्रेले भने, “समुन्नत नगर निमार्णका लागि आर्थिक रुपमा सबल बनाउन सवै नागरिकको साथ आवश्यक छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष एवं सुन्तला कृषक राजेन्द्र प्रसाद गैह्रेले कृषकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न सुझाब दिए ।
दुई वटै वडामा भएका कार्यक्रमहरुमा परियोजनाका तर्फवाट संयोजक राधाकृष्ण डुम्रेले सहजीकरण गरेका थिए । भेलामा जनप्रतिनीधि, वडाका सरोकारवालाहरु, कृषक, उद्यमी लगायतको सहभागिता रहेको थियो ।