काठमाडौँ २२, भदौ।
नेपाल र चीनबीच सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिए ।
उनले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताए ।
चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताए । चार वर्षको अन्तरालमा चिनियाँ विदेशमन्त्रीबाट यो भ्रमण हुन लागेको छ ।
नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उहाँले वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचारविमर्श हुने बताए ।
चीनको राज्य परिषद्का सदस्यसमेत रहेका विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चीनफिङको भावी नेपाल भ्रमणको पूर्वतयारीका रुपमा समेत लिइएको छ । मन्त्री ज्ञवालीले भने, “उच्चस्तरीय नेतृत्वको आगमन उत्साहको विषय हो तर भ्रमणको मिति निर्धारण भएको छैन ।”
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेला आफ्ना चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका निम्ति गरेको आमन्त्रणको राष्ट्रपति सीले सकारात्मक जवाफ दिएका थिए ।