भक्तपुर, 20 भदौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार दुईतिहाइको आडमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश–३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै सभापती देउवाले प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमासमेत हस्तक्षेप गर्न थालेको आरोप लगाएका छन् ।
देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी र कर्मचारीलाई सरकारले पार्टीको कार्यकर्ता जस्तो बनाउन खोजेको आरोप लगाउदै सरकारले संधिानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने वताए ।
उनले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आउँदो मंसिरमा हुने उपनिर्वाचन जसरी पनि जित्नुपर्ने भन्दै सभापति देउवाले पार्टीमा एकले अर्कालाई हराउने रोगको अन्त्य हुनुपर्नेमा जोड दिए । अन्तरघातीलाई पार्टीले कारबाही गर्ने उनले उल्लेख गरे ।
लोकतन्त्रमाथिको सरकारको हस्तक्षेप अस्वीकार्य – पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको सरकारको हस्तक्षेप अस्वीकार्य रहेको बताए । उनले व्यक्तिवादी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर कांग्रेसलाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतले राज्यका सबै निकायलाई कब्जा गर्ने सरकारको कदममा खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए । प्रशिक्षणमा प्रदेश–३ का १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापसहित ७ जिल्लाका २८१ महाधिवेशन प्रतिनिधि सहभागी छन् । बाँकी ६ जिल्लाका महाधिवेशन प्रतिनिधिका लागि पछि मकवानपुरमा प्रशिक्षण दिइने जनाइएको छ ।